देशभर १४ हजार ९७५ जनामा डेंगु संक्रमण


काठमाडाैं- देशभर १४ हजार ९७५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को तथ्यांकअनुसार ७७ जिल्लामध्ये जुम्लाबाहेक सबै जिल्लाका १४ हजार ९७५ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।

इडिसिडीको तथ्यांकअनुसार सबैभन्दा बढी कास्की जिल्लामा दुई हजार २२१ जनामा डेंगु संक्रमण देखिएको छ । यस्तै, तनहुँमा एक हजार ७२६, काठमाडौंमा एक हजार ९८६ जना डेंगु फैलिएको छ । यस्तै, पर्वतका एक हजार २८३ जनामा डेंगु संक्रमण पुष्टि भएको इडिसिडीको तथ्यांक छ ।

यस्तै, चितवनमा ८२९, गोरखामा ५५२ ,ललितपुरमा ४४८, बागलुङमा ३३९, स्याङ्जामा २६४, कैलालीमा २३९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । यी दश जिल्ला सबैभन्दा बढी डेंगु संक्रमण भएका जिल्ला हुन् ।

देशभरका सातवटा प्रदेशमध्ये सबैभन्दा बढी गण्डकी प्रदेशमा डेंगु संक्रमण फैलिएको छ । यहाँ ६ हजार ४८९ जना डेंगु संक्रमित छन् । यस्तै, बागमती प्रदेशमा ४ हजार ४८९, कोशी प्रदेशमा एक हजार ३२९ जनामा डेंगु पुष्टि भएको इडिसिडीले जनाएको छ ।

यस्तै, लुम्बिनी प्रदेशमा ९९५ जना, कर्णाली प्रदेशमा २२० जनामा डेंगु संक्रमण भएको छ । यस्तै, मधेस प्रदेशमा २८९ र सुदूरपश्चिम प्रदेशमा ७३९ जनामा डेंगु पुष्टि भएको सरकारी तथ्यांक छ ।

डेंगु रोग डेंगु भाइरसबाट संक्रमित एडिज जातका लामखुट्टेको टोकाइबाट सर्ने सरुवा रोग हो । यो रोगको संक्रमणबाट जोगिन लामखुट्टेको टोकाइबाट जोगिनु रहेको चिकित्सकको सुझाव छ ।

प्रतिक्रिया