धामीझाक्रीको भर पर्दा बैतडीमा सुत्केरीले गुमाइन् ज्यान


बैतडी-  बैतडीको पञ्चेश्वरमा एक सुत्केरीको मृत्यु भएको छ । पञ्चेश्वर गाउँपालिका–१ शेरीकी १८ वर्षीया मनिषा घटालको मृत्यु भएको हो।

सोमवार दिउँसो मृत बच्चालाई जन्म दिएकी घटालको अत्यधिक रक्तश्रावका कारण मंगलवार साँझ मृत्यु भएको पञ्चेश्वर स्वास्थ्यचौकीका प्रमुख सुरेश सार्कीले बताए । घरमै सुत्केरी भएकी घटालले पेटभित्रै मरेको बच्चालाई जन्म दिएकी थिइन् ।

त्यसपछि उनलाई रक्तश्राव भएको र स्वास्थ्य संस्था नलाग्दा उनको अकालमै ज्यान गएको बुझिएको छ । वर्षातका कारण पहिरोले बाटोघाटो अवरुद्ध हुँदा सुत्केरी महिलालाई स्वास्थ्य संस्थामा पुर्याउन नसकेको मृतकका आफन्तले जनाएका छन् ।

गाउँ नजिकैको शेरी बर्थिङ सेन्टर समेत बन्द हुँदा झन् समस्या भएको बताइएको छ । मनिषालाई रक्तश्राव हुँदा स्वास्थ्य संस्थामा लैजानुको सट्टा धामीझाक्रीको भर पर्दा उनको ज्यान गएको बुझिएको छ ।

ग्रामीण क्षेत्रमा अझै पनि धामीझाक्रीको भरपर्ने अन्धविश्वासले समस्या हुने गरेको पञ्चेश्वर स्वास्थ्यचौकीका प्रमुख सार्कीले बताए ।

प्रतिक्रिया