झ्याप्ले खोलाको पहिरोमा पुनः खोजी गरिँदै, कार पुरिएको आशंका


धादिङ- धादिङ र काठमाडौँको सिमाना नजिकै धुनिबेँसी नगरपालिका–९ झ्याप्ले खोलामा ३ सवारी पुरिएको पाइएपछि थप सवारी पुरिएको आशंका रहेको छ ।

आशंकामा अहिले सडकको कुना र सडक तलतिर थुप्रिएको पहिरो पन्छ्याएर पुनः खोजी गरिएको हो । झन्डै दुई सय मिटर माथिबाट डाँडै भासिएर झरेको पहिरोको गेग्य्रानले सडकको कुना भागमा र सडकको तलतिर ठूलो थुप्रो लागेको थियो ।

दुईवटा माइक्रोबस र एक ठूलो बस पुरिएको अवस्थामा फेला परेको स्थानमा एउटा कार पनि पुरिएको भन्ने आशंका रहेकाले पहिरोले थुप्रिएको माटोसमेत पुनः पन्छाएर खोजी गरिएको छ । पहिरोमा कुनै पनि सवारीसाधन फेला नपरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले जानकारी दिए ।

निर्माणाधीन सडक आयोजनाको डोजर प्रयोग गरेर आज बिहान पहिरोको गेग्य्रान पन्छाएपछि अहिले झ्याप्ले खोला क्षेत्रमा दुईतर्फी सडक खुलाइएको छ ।

सवारीसाधन चापकै कारण जोखिमपूर्ण स्थानहरूमा जाम हुन नदिन काठमाडौँ भित्रिने र बाहिरिने सवारी साधनलाई आलोपालो गरी आउजाउ गराइएको छ । निरन्तरको बर्सातसँगै शुक्रबार राति झ्याप्ले खोलामा पहिरो खसेको थियो ।

प्रतिक्रिया