बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा एक करोड सहयोगको घोषणा


लण्डन- लगातारको भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट प्रभावित नेपालीलाई गैरआवासीय नेपाली संघ (एनआरएनए)ले एक करोड सहयोग गर्ने भएको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीका अनुसार आइतबार भएको भर्चुअल बैठकमा संघका पदाधिकारीहरूले पहिलो चरणमा तत्काल बाढीपीडितका लागि एक करोड सहयोग गर्ने निर्णय गरेका हुन् । बैठकले गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा हेमराज शर्माको संयोजकत्वमा उच्चस्तरीय आर्थिक सहयोग संकलन समिति गठन गरेको छ ।

समितिमा संघका विभिन्न पदाधिकारी, क्षेत्रीय संयोजक तथा राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरू समावेश छन् । पदाधिकारीको बैठक पछि राष्ट्रिय समन्वय परिषद् र अन्तर्राष्ट्रिय समन्वय परिषद्को आपतकालीन संयुक्त बैठक आयोजना गरी सहयोग संकलनमा थप छलफल गरिने जनाइएको छ ।

अध्यक्ष डा केसीका अनुसार एनआरएनएले राष्ट्रिय समितिको सहकार्यमा बाढी प्रभावित क्षेत्रमा भौतिक रूपमा उपस्थित भएर राहत वितरण गर्ने तयारी गरिरहेको छ ।

बाढीपहिरोबाट काठमाडौँ, भक्तपुर, मकवानपुर, ललितपुर, काभ्रे, धादिङ, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, रामेछाप, नुवाकोट, पाँचथर, धनकुटा, उदयपुर, सोलुखुम्बु, इलाम, महोत्तरी र सप्तरी जिल्लाका बासिन्दा प्रभावित छन् ।

 

प्रतिक्रिया