मध्यपपूर्वमा ठूलो युद्धको खतरा देखियोः जो बाइडेन


एजेन्सी- अमेरिकी राष्ट्रपति जो बाइडेनले मध्यपूर्वमा ठूलो युद्ध हुनबाट जोगाउनुपर्ने बताएका छन् ।

डेलावेयरस्थित एयर फोर्स बेसमा पत्रकारहरूसँग कुरा गर्दै उनले यसबारेमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग कुरा गर्ने बताए । तर, उनीहरूबीच कहिले वार्ता हुन्छ भन्ने उनले बताएनन् ।

यसअघि ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले अमेरिकी टिभी नेटवर्क (एबीसी) लाई इजरायलले लेबनानमा आफ्नो सहयोगी हिजबुल्लाहमाथि गरेको आक्रमणको सम्बन्धमा इरानको कुनै पनि प्रतिक्रियाका लागि तयार रहनुपर्ने बताएका थिए ।

अर्कोतर्फ, इजरायलले पछिल्ला केही घण्टामा लेबनानमा आफ्नो सैन्य कारबाहीलाई तीव्र बनाएको छ। यसले हिजबुल्लाहसँग जोडिएका दर्जनौं लक्ष्यहरूमा आक्रमण गरेको छ ।

इजरायली सेनाले आफ्नो वायुसेनाले बेका उपत्यका र दक्षिणी लेबनानमा रहेको हिजबुल्लाह भवनहरूमा भण्डारण गरिएका हतियार र रकेट लन्चरहरूमा आक्रमण गरेको जनाएको छ ।

अर्को सङ्गठन, पपुलर फ्रन्ट फर लिबरेशन अफ प्यालेस्टाइनले बेरुतको कोला जिल्लामा इजरायली आक्रमणमा आफ्ना तीन नेता मारिएको जनाएको छ ।

आइतबार इजरायली सेनाले यमनमा हुथी विद्रोहीको नियन्त्रणमा रहेको क्षेत्रमा आक्रमण गरेको थियो । यसमा होदेइदाह शहरमा रहेको पावर प्लान्ट र बन्दरगाहलाई निशाना बनाइएको थियो ।

प्रतिक्रिया