पहिरोले बाटाे छेक्दा एम्बुलेन्समै बिते २ बिरामी


सिन्धुली-  सिन्धुलीबाट बिरामी बोकेर काठमाडौंतर्फ जाँदै गरेका एम्बुलेन्सहरू बाढी र पहिरोका कारण बीच सडकमै रोकिंदा दुई जना बिरामीको मृत्यु भएको छ।

सिन्धुली सदरमुकामबाट बिरामी लिएर काठमाडौं हिँडेका पाँच वटा एम्बुलेन्समध्ये दुईवटाका बिरामीको मृत्यु भएको हो ।

बीच बाटोमा नै एम्बुलेन्स रोकिएपछि कमलामाई नगरपालिका ४ मल्लागाउँ सिन्धुलीका एक जना करिव ९५ वर्षकी वृद्धा टीका कुमारी भुजेल र बर्दिवास नगरपालिका ८ महोत्तरीका करिव ४५ वर्षका मानबहादुर सिंजालीको मृत्यु भएको हो ।  भुजेलको शुक्रबार र सिँजालीको शनिबार बिहान एम्बुलेन्समै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डिएसपी अनिलकुमार खड्काले बताए ।

सिन्धुलीको सुनकोसी गाउँपालिका १ दुम्जानजिकै बाढी र पहिरोका कारण बिपी राजमार्ग अवरुद्ध हुँदा बिहीवारदेखि बीचबाटोमै एम्बुलेन्स रोकिएको थियो । अन्य तीनवटा एम्बुलेन्सका बिरामीको अवस्थासमेत नाजुक बन्दै गएको प्रहरीले जनाएको छ।

मृ्त्यु भएपछि  समयमा शव निकाल्न नसक्दा एम्बुलेन्समै गनाउन थालेको एम्बुलेन्स चालकहरू बताउँछन् ।

 

प्रतिक्रिया