पहिरोले लग्यो कर्णेलको फुली लगाउने सपना, उद्धार गर्दागर्दै अस्ताए केसी


काठमाडाैं- सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-४ चियानेमा रहेको सिन्धु बीच रिसोर्टमा पहिरो गएपछि उद्धार कार्यमा खटिएका  नेपाली सेनाका प्रमुख सेनानी (कर्णेल)काे मृत्यु भएकाे छ । शनिबार बिहान सैनिक प्रतिष्ठान खरिपाटीमा कार्यरत दोलखा भीमेश्वर नगरपालिकाका मिलन केसीको मृत्यु भएको हो ।

केसीसहित दुई कोरियन नागरिक शुक्रबार बेलुका रिसोर्टमा पुगेका थिए । रिसोर्टमा सुतिरहेको बेला शनिबार बिहान १० बजे रिसोर्ट माथिबाट पहिला सानो पहिरो झरेको थियो ।

कर्णेल केसीसहितको टोली सुरक्षित स्थानमा पुगेकाे थियाे । तर,  कोरियन नागरिक नउठेपछि केसी उनीहरूलाई उद्धार गर्न गएका थिए । त्यसैबेला ठूलो पहिरो आएपछि केसी पुरिएकाे बताइएकाे छ ।

उनी केही समयअघि मात्रै कर्णेलमा बढुवा भएका थिए । तर, दर्ज्यानी चिन्ह भने लगाउन बाँकी थियो । उनी सिरियाको अनडफ मिसनमा जाने तयारीमा थिए ।

सन्तोष खड्काले कर्णेल केसीसहित एक कोरियन नागरिकको शव प्रथामिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा राखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी जानकारी दिए ।

प्रतिक्रिया