युवालाई ठाउँ दिनु पर्‍यो, देउवाजी सदावहार सभापति हुनु हुँदैन : कोइराला


काठमाडौं – सत्तारुढ नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले पार्टी नेतृत्वका लागि युवाहरुलाई अघि बढाउनु पर्ने बताएका छन् । शनिबार धुलिखेलमा विपी कोईरालाको शालिक अनावरण कार्यक्रममा बोल्दै कोइरालाले अब युवाहरूलाई नेतृत्वमा ल्याउनका लागि प्रोत्साहन गर्नुपर्ने बताएका हुन् ।

‘शेरबहादुरजी सदावहार पार्टी सभापति हुनु हुन्न । अब युवाहरु आउँछन, उनीहरुलाई ठाउँ दिनुपर्‍यो । उनीहरुलाई अगाडि बढाउनु पर्‍यो,’ उनले भने । ६० प्रतिशत नेताहरू ४० वर्षमुनिका रहे पनि नेतृत्व र जिम्मेवारी बुढाले मात्रै पाउने अवस्था सुधार्नु पर्न उनले बताएका छन् ।

‘तर नेताहरुले कहिल्यै पनि तिनीहरुलाई सम्बोधन गरेनन् । सबै बुढाहरुका लागि मात्रै सम्बोधन गरें । हामीले कहिल्यै पनि युवाहरुलाई सम्बोधन गर्न सकेनौं । जहिले पनि मन्त्रीहरु बुढैहरु बन्छन् । युवाहरुले कहिल्यै चान्स नै पाउँदैनन् । मन्त्री मात्रै होइन, कुनै पनि ठाउँमा युवाहरुलाई प्रोत्साहन किन गर्दैनौं हामी रु,’ उनले भने ।

विपी कोईरालाले राजीनामा दिएर कृष्णप्रसाद भट्टराईलाई पार्टी सभापतिको जिम्मेवारी दिएकोबाट सिकेर अहिलेको नेतृत्वले पनि नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने कोइरालाले बताएका थिए । ‘विपी कोइरालालाई पुजेर मात्रै हुँदैन । उहाँको आर्दश बुझौं । उहाँको पदचिन्हमा हिँडौं । नेपाली काँग्रेस यत्रो बलियो शक्ति छ । तैपनि हामीले जहिले पनि अल्पमतमा हुने, अथवा गठबन्धनको सरकार हुने । हामीले आफ्नो खुट्टामा उभिएर अरुलाई ठेगान लगाउनु पर्छ । त्यो दृष्टि राख्नु पर्‍यो,’ उनले भने ।

प्रतिक्रिया