अछामका सरकारी बाइकमा जनप्रतिनिधिका आसेपासेको मस्ती


अछाम- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका सरकारी बाइकमा जनप्रतिनिधिका आसेपासेले मोज गर्ने गरेको खुलेको छ । गएराति बान्नीगढी जयगढ गाउँपालिकाका २ वटा सरकारी मोटरसाइकल प्रहरी चौकी बयालपाटाले नियन्त्रणमा लिएसँगै यो तथ्य सार्वजनिक भएको हो ।

गाउँपालिकाको वडा नम्बर २ का वडा अध्यक्ष नेत्र बहादुर साउँदले प्रयोग गर्दै आएको से १ ब – १५८० नम्बर र गाउँपालिकाका प्रवक्ता मोहनलाल ताम्राकारले प्रयोग गर्दै आएको सु प प्र ०१-००१ ब००३७ नम्बरको सरकारी मोटरसाइकल बयालपाटा प्रहरी चौकीले गएराति २ बजे नियन्त्रणमा लिएको थियाे । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी ईश्वरी भण्डारीका अनुसार मदिरा सेवन गरी मध्यरातमा सरकारी मोटरसाइकल चलाएको भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

मेल्लेख गाउँपालिकाको नन्देगडामा अनन्ते मेला हेर्नका लागि वडा अध्यक्ष साउँद र प्रवक्ता ताम्राकारका आसेपासेले सरकारी मोटरसाइकल दुरुपयोग गरेको बताइएको छ । प्रवक्ता र वडा अध्यक्ष स्वयमले आफ्ना नातेदारलाई मेला हेर्न जानकै लागि सरकारी बाइक दिएको स्रोतको दाबी छ ।

सरकारी बाइकमा आसेपासेले मस्ती गरेको तथ्य बाहिरिने डरले उनीहरूले बिहानैदेखि यो घटनालाई गुपचुपमै मिलाएर बाइक छुटाउन खोजेपनि प्रहरीले आधिकारिक पालिकाको पत्र माग गरेपछि आपत् आइलागेको थियो ।

प्रवक्ताले आफूले मोटरसाइकल चलाउन नजानेको भएपनि  गाउँपालिका अध्यक्ष टेकबहादुर साउँदसँग निकट भएको आडमा सरकारी बाइक घरमै लगेर थन्क्याएको निकट स्रोतले बताएको छ ।

स्रोतका अनुसार उनले मोटरसाइकल चलाउन सिक्न पनि सोही मोटरसाइकल  प्रयोग गर्दै आएका छन् भने अन्त कतै जाँदा आफन्तलाई चालक बनाएर हुइँकाउँदै आएका छन् ।

गाउँपालिकाका अधिकांश जनप्रतिनिधिसँग सवारी चालक अनुमतिपत्र नभएता पनि मोटरसाइकल सुविधा लिएर प्रयोग गरिरहेको बताइन्छ ।

प्रतिक्रिया