स्याङ्जामा एक पालिका एक हुलाक कार्यालय


वालिङ (स्याङ्जा) – स्याङ्जामा एक पालिका एक हुलाक कार्यालय स्थापना हुने भएको छ । सरकारले हुलाकको पुनः संरचनाअन्तर्गत एक पालिका एक हुलाक कार्यालय स्थापना गर्ने नीति लिएसँगै स्याङ्जामा कार्यान्वयन प्रक्रिया अघि बढाइएको हो ।

स्याङ्जाका ११ पालिकामा एक जिल्ला हुलाक र अन्य १२ वटा इलाका हुलाक कार्यालय छन् । प्रत्येक पालिकामा एउटा हुलाक कार्यालय रहने व्यवस्था भएबमोजिम एउटा पालिकामा एकभन्दा धेरै भएका हुलाक हटाइने भएको छ । एउटा पनि हुलाक कार्यालय नभएका पालिकामा कार्यालय स्थापना गरी सेवा दिने तयारी भइरहेको जिल्ला हुलाक कार्यालय स्याङ्जाका प्रमुख गुरुप्रसाद मरासिनीले बताए ।

स्याङ्जाका ११ पालिकामध्ये हाल तीनवटा पालिकामा दुई/दुई, सातवटा पालिकामा एक/एक वटा र एउटा पालिकामा हुलाक कार्यालय छैन । स्याङ्जाको पुतलीबजार नगरपालिका, आँधीखोला र हरिनास गाउँपालिकामा दुई/दुईवटा हुलाक कार्यालय रहेको उनले बताए । ‘एउटै पालिकामा दुई÷दुईवटा रहेका कार्यालयमध्येबाट एउटा मात्रै राखिने छ,’ उनले भने, ‘एक/एकवटा भएका पालिकामा तिनैबाट सेवा दिइने र नभएको पालिकामा कार्यालय स्थापना गर्छौं ।’

पुतलीबजार नगरपालिकामा जिल्ला हुलाक र कोल्मामा इलाका हुलाक कार्यालय छ । पुतलीबजारमा कोल्मा इलाका हुलाक कार्यालय हटाइने भएको हो ।

त्यस्तैगरी, आँधीखोला गाउँपालिकामा रङ्गेठाँटी इलाका हुलाक कार्यालय र पञ्चमूल इलाका हुलाक कार्यालय छन् । आँधीखोलाको पञ्चमूल इलाका हुलाक कार्यालय हटाइने भएको हो । हरिनास गाउँपालिकामा क्याक्मी र किचनासमा इलाका हुलाक कार्यालय रहेकामा क्याक्मी इलाका हुलाक कार्यालय हटाइने भएको उहाँले जानकारी दिए ।

बिरुवा गाउँपालिकामा एउटा पनि इलाका हुलाक कार्यालय नभएकाले हुलाक पुनः संरचनाअनुसार आगामी असोजबाट कार्यालय स्थापना गरी सञ्चालनमा ल्याइने भएको हो । नयाँ पुनः संरचनाअनुसार हुलाक कार्यालय सञ्चालनका विषयमा स्थानीय पालिकाका जनप्रतिनिधि, कर्मचारीहरुबीच अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको उनले बताए । -रासस

प्रतिक्रिया