मेटमणि चौधरीले दिए स्पष्टीकरण, भन्छन्- मलाई जबरजस्ती विवादित बनाउन खोजियो


काठमाडौँ – नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीले केही दिन पहिला आफूले एक टेलिभिजनमा चुच्चे नक्साका सन्दर्भमा गरेको टिप्पणीलाई केही सेकेन्डको भिडियोलाई मात्र काटेर सामाजिक सञ्जालमार्फत दुष्प्रचार गरिएको भन्दै स्पष्टीकरण दिएका छन् ।

शुक्रवार विज्ञप्ति जारी गर्दै चौधरीले आफूले बोलेको विषयलाई जबरजस्ती विवादित बनाउन खोजिएको आरोप समेत लगाएका छन् ।

‘कार्यक्रममा चुच्चे नक्साको सन्दर्भ उठेपछि मैले महाकाली सन्धिका नाममा नेपालको महाकाली नदीलाई दुवै देशले पानी, लगानी, उत्पादन र उपभोगमा आधा आधाको सिद्धान्त उल्लेख गरेको कारणले भारतले महाकाली नदी र महाकाली नदीको नक्कली मुहानको पश्चिम उत्तरमा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानी दाबी गरेको र दाबी पुगिरहेको कुरा भारतले गरिरहेको छ भनेको हो’, चौधरीको स्पष्टीकरणमा भनिएको छ । साथै उनले गलत महाकाली सन्धिका कारण भारतले दाबी गरेको र सो सन्धि नै सच्चाउनुपर्ने आफ्नो भनाइ रहेको बताएका छन् ।

पाँच बुँदे स्पष्टीकरणमा चौधरीले मुलुकको भौगोलिक अखण्डता, स्वतन्त्रता, सार्वभौमसत्ता र पार्टी जीवनको विषयमा गम्भीर र संवेदनशील रहेको भन्दै मुलुकको भौगोलिक अखण्डता,स्वतन्त्रता र सार्वभौमसत्ताप्रति प्रतिबद्ध रहेको समेत जनाएका छन् ।

चौधरीलाई सोही अभिव्यक्तिका कारण पार्टीले बिहीबारमात्र तीन दिनभित्र लिखित स्पष्टीकरण दिन निर्देशन दिएको थियो ।

 

प्रतिक्रिया