भीमदत्त राजमार्ग अवरुद्ध भएपछि बाटोमै रोकिए शिक्षक सेवा आयोगका परीक्षार्थी


काठमाडाैं- बिहीबार रातिदेखि परेकाे अविरल वर्षाका कारण सुदूरपश्चिमको ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग  पूर्ण रुपमा अवरुद्ध छ ।  जसका कारण कयौं यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् ।

त्यहि यात्रुकाे भिडमा  कयौं परीक्षार्थीहरु पनि रहेका छन् । भाेलि (शनिबार) बिहान ११ कैलालीको धनगढीमा  बजेदेखि शिक्षक सेवा आयोगको परीक्षा छ । प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगात्मक लिखित परीक्षा (विषयगत) का लागि आयोगले २० गते नै केन्द्र तोकिसकेको थियो ।

उक्त परीक्षाका लागि सुदूरपश्चिमबाट मात्रै एक हजार नौं सय ५६ जना परीक्षार्थी तयारीमा थिए । उनीहरुमध्ये झन्डै एक हजार चार सय परीक्षार्थी भने सुदूरपश्चिमको पहाडी सात जिल्लाका छन् । तर, राजमार्ग अवरुद्ध भएपछि उनीहरू बाटोमै अलपत्र परेका छन् ।

पहिरो खस्दा  भीमदत्त राजमार्ग अन्तर्गतकाे साहुखर्क, मेलखर्क, खानीडाडा, भासु भीर, फल्टुडे लगायतका क्षेत्रमा अवरुद्ध छ । वर्षा र पहिरो खस्ने क्रम अहिले पनि जारी रहेकाले राजमार्ग सुचारु गर्न कठिन भइरहेकाे  जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपक कार्कीले बताए ।

 

प्रतिक्रिया