सुदूरपश्चिमका ७ पहाडी जिल्लासँग सडक सम्पर्क टुट्यो, पहिरोले आधा दर्जन राजमार्ग अवरुद्ध


काठमाडाैं- सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भारी वर्षा भएको छ । बुधबार रातिदेखि प्रदेशका डडेल्धुरा, डोटी, बैतडी, कैलाली र कञ्चनपुर लगायतका जिल्लाका विभिन्न स्थानमा भारी वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी डडेल्धुरामा वर्षा भएको छ । डडेल्धुरामा एक सय ६७, कैलालीको धनगढीमा एक सय ५७ र डोटीको दीपायलमा एक सय १२ मिलिमिटर वर्षा भएको छ । अहिले पनि वर्षा जारी छ ।

वर्षाका कारण पहिरो जाँदा प्रदेशका विभिन्न राजमार्ग पनि अवरुद्ध भएका छन् । तराईका जिल्लाबाट सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग आधा दर्जन स्थानमा पहिरो गएपछि पूर्ण रुपमा अवरुद्ध छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका अनुसार राजमार्गको खानीडाँडा, फल्टुडे, भासु भीर, मेलखर्क, साखुखर्क लगायतका स्थानमा पहिरो गएको छ ।

डडेल्धुराको गन्यापधुरा गाउँपालिकास्थित साहुखर्कमा सबैभन्दा ठुलो पहिरो खसेपछि राजमार्ग विहानैदेखि पूर्णरूपमा अवरुद्ध भएको थियो । यस्तै डडेल्धुराबाट डोटी जोड्ने केआईसिंह राजमार्ग पनि पूर्ण रुपमा बन्द रहेको जल्ला प्रहरी कार्यालय डडेल्धुराले सूचना जारी गर्दै उल्लेख गरेको छ । राजमार्गको रडुवा र सकायल क्षेत्रमा पहिरो खसेको छ ।

डोटीको बुडरदेखि जोगबुढा जोड्ने सडक पनि पूर्ण रुपमा बन्द छ । आलिताल गाउँपालिकाको सुनखोलामा पहिरो गएपछि सडक अवरुद्ध भएको हो ।

यस्तै बझाङ जोड्ने जयपृथ्वी राजमार्ग पनि अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत छविसपाथिभेरा गाउँपालिकाको जालेबगरमा पहिरो गएपछि बझाङको यातायात अवरुद्द भएको हो ।

केदारस्यू गाउँपालिका क्षेत्रमा पनि पहिरो गएपछि आवातजावत ठप्प छ । बिजुलीको तार चुडेर सेती नदीमा पुगाएपछि बझाङको विद्युत सेवा पनि अवरुद्द भएको छ ।

डडेल्धुरादेखि बैतडी जोड्ने राजमार्ग पनि पूर्ण रुपमा अवरुद्ध छ । राजमार्गको डडेल्धुरा सदरमुकाम क्षेत्र, अनारखोली क्षेत्रमा पहिरो गएपछि रामाजर्ग अवरुद्ध भएको हो ।

 

प्रतिक्रिया