अछाम पुगेर एमालेलाई भीम रावलको चुनौती- कारबाही गरेर देखाउ


अछाम- नेकपा (एमाले) का नेता भीम रावलले आफूमाथि कारबाही गरेर देखाउन चुनौती दिएका छन् ।

अछाममा मंगलबार भएको पत्रकार सम्मेलनमा बोल्दै रावलले आफूलाई कारबाही गरेर देखाउन एमालेलाई चुनौती दिएका हुन् । देश, जनता र पार्टीले लिएको नीतिको पक्षमा आफू खडा भएको केही मानिसहरुलाई बिझाई रहेको भन्दै नेता रावलले त्यस्ता पात्र र प्रवृत्तिलाई चुनौती दिन आफू सक्षम रहेको दाबी गरे ।

पार्टी विचार शुन्य अवस्थामा पुगेको भन्दै नेता रावलले आफू पार्टीको विधि, विधान र सिद्धान्तको पक्षमा बोल्दै आएकोतर्फ सबैको ध्यानाकर्षण पनि गराउन खोजीरहेको बताए ।

पार्टीबाट कारबाहीको तयारी भइरहेको छ भन्ने सुनिन्छ नि भन्ने प्रश्नमा उनले भने,  पार्टीको सिद्धान्तलाई जोगाउनुपर्छ, विधि विधान अनुसार पार्टी चल्नुपर्छ भन्ने मत राखेकै कारण मलाई कारबाही गरिन्छ भने त्यो गरेर देखाउन ठाडो चुनौती दिन्छु । पार्टीले चुनौतीको सामना गरे त्यसपछिको कदम  चालौँला ।’

उनले नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने हल्लामा सत्यता नरहेको बताउदै कार्यकर्ताको जनचाहाना र सुझाव अनुसार अघि बढ्ने उल्लेख गरेका छन् ।

प्रतिक्रिया