रेडपान्डा मार्ने गिरोह पासोसहित पक्राउ


सोलुखुम्बु – सोलुखुम्बु प्रहरीले दुर्लभ वन्यजन्तु हाब्रे (रेडपान्डा)को चोरी, सिकारी, ओसारपोसार र बेचबिचखनमा संलग्न तीन जनाको गिरोहलाई पासोसहित पक्राउ गरेर सार्वजनिक गरेको छ। महाकुलुङ गाउँपालिका–३ बस्ने ५७ वर्षीय मित्रधन राई, ५६ वर्षीय कविरशंखर राई र सोही गाउँपालिका–२ का ७६ वर्षीय जगतबहादुर राई पक्राउ परेका हुन्।

सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) कवित कटवालले चोेरी, सिकारी, ओसारपोसार र बेचबिचखन वर्षौंदेखि संलग्न तीन तहका व्यक्तिलाई पक्राउ गरेर सार्वजजनिक गरेको जानकारी दिए। ‘उनीहरुले मकालु वरुण राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रभित्र रेडपान्डा सिकारी गरी मार्ने र ओसारपसार तथा बेचबिखन गर्ने गरेको पाइएको छ,’ डिएसपी कटवालले भने।

डिएसपी कटवालका अनुसार मित्रधनले पासो बनाएर रेडपान्डाको सिकार गर्थे। सिकार गरेको रेडपान्डा कविरशंखरलाई बुझाउँथे। कविरशंखरले भने जगतबहादुरलाई बिक्रीका लागि पठाउँथे। तीनजनाकै मिलेमतोमा जगतबहादुरले काठमाडौंलगायत स्थानमा रेडपान्डाको आखेटोपहार बिक्री गर्दै आएको अनुसन्धानबाट खुलेको डिएसपी कटवालले बताए।

‘उनीहरुले एक सयभन्दा बढी रेडपान्डाको सिकार गरी किमाथांका नाका हुँदै चीनतर्फ तस्करी गरेको खुलेको छ,’ कटवालले भने। पक्राउ परेका उनीहरुको साथबाट रेडपान्डा मार्नको लागि प्रयोग गरिने ५ वटा पासो र ७ वटा रेडपान्डा समेत बरामद भएको प्रहरीले जनाएको छ। उनीहरुलाई आवश्यक कारबाहीका लागि मकालु वरुण राष्ट्रिय निकुञ्जलाई जिम्मा लगाइएको कटवालले बताए।

प्रतिक्रिया