जिल्लामै एक्लिँदै एनपी साउद, शक्तिशाली बन्दै लेखक


काठमाडौं– सुदूरपश्चिमको डडेल्धुराका शेरबहादुर देउवा नेपाली कांग्रेसका सभापति छन् । सुदूरपश्चिम प्रदेशमा उनका दुई विश्वासपात्रकाे रूपमा रमेश लेखक र एनपी साउदको नाम अगाडि आउँछ ।

विश्वास गरेर नै देउवाले दुवैलाई पटक–पटक मन्त्री बन्ने अवसर दिएका छन् । लेखक हाल गृहमन्त्रीको पदमा छन् भने साउदलाई यसअघिको सरकारमा परराष्ट्र मन्त्रालय दिइएको थियो । रमेश लेखक कञ्चनपुरको क्षेत्र नम्बर–३ बाट र एनपी साउदले २ नम्बर क्षेत्रबाट चुनाव लड्ने गरेका छन् ।

साउद देउवाकै गृह जिल्ला डडेल्धुराका भएपनि कञ्चनपुरमा राजनीति गर्छन् । बैतडीका लेखक पनि कञ्चनपुर बसेर राजनीति गर्छन् । लेखक जिल्ला कार्यसमितिको सचिव भइसकेका नेता हुन् । नेविसंघको केन्द्रीय अध्यक्ष भइसकेका साउदले पनि पार्टीभित्र राम्रो पृष्ठभूमि बनाएका नेता हुन् ।

केन्द्रमा सभापति शेरबहादुर देउवासँगै रहेपनि उनीहरूले पहिलेबाटै कञ्चनपुरमा आ–आफ्नै गुट चलाउँदै आएका छन् । ०७४ सालको संसदीय निर्वाचनमा साउद र लेखक दुवै पराजित भएका थिए । त्यतिबेला लेखकलाई हराउन साउद समूहले भूमिका खेलेको आरोप लागेको थियो ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको महाधिवेशन प्रतिनिधि र प्रदेश महाधिवेशन प्रतिनिधिमा पनि उनीहरूको प्यानल चुनावी मैदानमा थियो । सो समयमा पनि एनपी टिमका हाल सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्री रहेका बहादुर सिंह थापा पराजित बन्दा लेखक समूहका हालका भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी पार्टीको जिल्ला सभापति बनेका थिए ।

दुवैमाथि विश्वास गर्दै आएका देउवाले आजभोलि भने साउदबाट मुख मोडेका छन् । एनपीले देउवालाई छोडेर अर्को गुटमा लागेको भन्दै चर्चासमेत भएको थियो ।

त्यसपछि नै केही समयअघि देउवाले रमेश लेखकलाई कार्यसम्पादन समिति सदस्यमा मनोनित गरेका थिए । देउवाले लेखकलाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनीत गरेपछि केन्द्रीय सदस्य एनपी रुष्ट भएका थिए ।

देउवाको त्यहि कदमले लेखक जिल्लामा पनि बलियो बनिरहेको बताइन थालेको छ । सुदूरपश्चिममा अब देउवाको उत्तराधिकारीको रूपमा पनि लेखकलाई हेरिन थालेको छ ।

एनपी गुटका नेता लेखकतिर
जिल्लातिर कमै जाने एनपी साउदको ठिक विपरीत रमेश लेखक भने कञ्चनपुर धाइरहन्छन् । गत जेठमा जिल्ला पुगेका लेखकले हालका पार्टीका जिल्ला सचिव भीम भट्ट, पुराना नेता दिवाकर पाण्डे, पूर्व पार्टी सभापति हरि बोहरा लगायतलाई भेटेका थिए ।

अहिले मन्त्री भएपछि उनी पुनः जिल्लाको भ्रमण निस्किएका छन् । सोही क्रममा एनपी गुटबाट उम्मेदवार बनेर जिल्ला सभापतिको चुनाव हारेका बहादुर सिंह थापा उनलाई स्वागत गर्न धनगढी विमानस्थल पुगेका थिए । उनी मात्रै नभएर उनी नजिकका कार्यकर्ता पनि विमानस्थल पुगेका थिए ।

मंगलबार बिहान कैलालीको धनगढी पुगेका गृहमन्त्री लेखक तीन दिनसम्म जिल्लामा रहने तालिका तय भएको थियो । त्यसबीचमा उनले विभिन्न कार्यक्रम, नेपाली कांग्रेसका कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम तय भएको थियो ।

उनले मंगलबार कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित कांग्रेस पार्टी कार्यालयमा कार्यकर्तासँग भेटघाट गरेका थिए । त्यसपछि सोही सदन दिउँसो बेलौरी र बेलडाँडीमा कार्यकर्तासँग भेटघाट गरेका छन् ।

(बुधबार) लेखकले नेपाली कांग्रेस कञ्चनपुर पार्टी कार्यालयमा कार्यकर्तासँग भेटघाट तथा अन्तक्रिया गरेका थिए । उनले कांग्रेस दोधारा–चाँदनीको भवन उद्घाटन र कार्यकर्तासँग भेटघाट पनि गरे । त्यस्तै आज (बिहीबार) उनले शुक्लाफाँटाको झलारीमा कांग्रेस कार्यकर्तासँग भेटघाट गरेका थिए ।

यसरी उनी जिल्लाका नेता तथा कार्यकर्तामा आफ्नो बलियो पकड बनाउने लक्ष्यसहित जिल्ला पुगेको बताइन थालेको छ । उनले जिल्लाका सबैजसो कार्यकर्तालाई खुसी बनाउनकै लागि ठाउँ-ठाउँमा भेटघाट गरेका हुन् । आफ्ना गुनासो सुन्न लेखक बारम्बार जिल्ला आइरहने भएकाले कार्यकर्ताहरुले पनि उनीलाई मन पराउने गरेकाे एक नेताले बताए ।

प्रतिक्रिया