निकृष्टताको पराकाष्ठामा सरकारका प्रवक्ता !

'जिब्रो थुत्नुपर्ने' र ‘नेपाली आकाश असुरक्षित रहेको’ भन्ने अभिव्यक्तिपछि प्रधानमन्त्रीले गराए ‘बोली सुधार्न’ सचेत


काठमाडौं – सरकारले गरेका निर्णयहरु आधिकारिक रुपमा सार्वजनिक गर्ने जिम्मेवारी प्रवक्तालाई हुने गर्दछ । तर, अहिलेको सरकारका प्रवक्ताको समेत जिम्मेवारी पाएका सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङका पछिल्ला अभिव्यक्तिहरु सरकारको गरिमा बढाउने भन्दा पनि बदनाम गराउनेतर्फ उद्यत देखिएका छन् ।

पार्टीको एउटा संगठनको कार्यक्रमका लागि गृह प्रदेशको राजधानी पोखरा पुगेका मन्त्री गुरुङले जनताको सेवाका लागि चौबिसै घन्टा खटिने गरेको संगठनका प्रमुखको ‘जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिनु अशोभनीयमात्र नभई निकृष्टता प्रस्तुत गर्नु हो । सञ्चार मन्त्रालय सम्हालेका गुरुङले गृह मन्त्रालयका बारेमा सोधिएको प्रश्नमा जवाफ दिँदै नेपाल प्रहरीका आईजीपीको ‘जिब्रो थुत्नुपर्ने’ बताएका थिए । यदि उनी सभ्य र शीष्ट भएको भए अर्को मन्त्रालयको बारेको जवाफ दिन बाध्य पारिँदैनथ्यो होला ।

साथै उनले केही त्यसअघि साउन अन्तिम साता भएको हेलिकोप्टर दुर्घटना भएको दिन अर्को विवादास्पद अभिव्यक्ति दिए । सरकारको जिम्मेवार तहमा बसेका व्यक्तिले सार्वजनिक कार्यक्रममै ‘नेपाली आकाश असुरक्षित रहेको’ भन्ने अभिव्यक्ति समेत दिएका थिए । पछिल्लो अवस्थामा नेपालमा पर्यटकहरु विस्तारै बढ्दै गइरहेको अवस्थामा सरकारका प्रवक्ताले नै नेपाली आकाश असुरक्षित छ भन्ने अभिव्यक्ति दिनुले पर्यटन क्षेत्रलाई कस्तो किसिमको असर पुर्याउने हो?  सरकारका तर्फबाट आधिकारिक भनाई राख्नुपर्ने जिम्मेवारी लिएर बसेका व्यक्तिले नै यस किसिमको त्रासदीपूर्ण अभिव्यक्ति दिनुलाई के भन्ने ?

एकपछि अर्को मर्यादित र विवादास्पद अभिव्यक्ति दिन नछाडेका गुरुङ पहिलोपटक जिम्मेवारपूर्ण तहमा पुगेका त पक्कै होइनन् । मुख्यमन्त्रीसमेत भइसकेका गुरुङ अहिले फेरि संघीय संसदबाट मन्त्री र सरकारको प्रवक्ताको जिम्मेवारी लिएको बखत राम्रो र सकारात्मक काम गर्नुको सट्टा प्रधानमन्त्रीबाट ‘बोली सुधार्नु’ भन्दै निर्देशन पाउनुमा कत्तिसम्मको लज्जास्पद विषय हो, उनले बुझ्नुपर्ने हो ।

अभिव्यक्तिमा छाडापन र अमर्यादित शब्दहरु प्रयोग गरिरहने गुरुङ कार्यालयमा पनि अशिष्ट रहने गरेका छन् । उनलाई भेट्न समय लिएर जानेहरुको गुनासोले उनी मर्यादाहीन नै हुन् भन्नेमा कुनै द्विविधा छैन । मन्त्रालयमा भेट्न गएकाहरुलाई कार्यकक्षमा राखेर गुरुङ फोनमा नै व्यस्त हुने गर्दछन् । आफ्नो कुरा वा समस्या राख्नका लागि मन्त्रीसम्म पुगेकाहरुको बेवास्ता गर्दै फोनमै व्यस्त रहने बानी उनमा घटेको भने छैन । सार्वजनिक कार्यक्रमहरुमा त अमर्यादित र अपमानजनक भाषा प्रयोग गर्ने गुरुङले आफ्नो कार्यालयमा कस्तो व्यवहार गर्दछन् होला त्यो कल्पना नै काफी हुन्छ ।

उनका अभिव्यक्ति लिएर प्रतिनिधिसभा र राष्ट्रियसभामा समेत आवाज उठ्न थालेका छन् । सरकारको जिम्मेवार तहमा बसेर यस किसिमको अव्यावहारिक अभिव्यक्ति दिनुलाई कतिपयले बर्खास्तीसम्मको माग गरेका छन् । राज्य व्यवस्था समितिका सभापति एवं नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ‘मन्त्रीहरुको जिब्रोमा ब्रेक लगाउनुपर्ने’ र उक्त अभिव्यक्तिप्रति संसदमा जवाफ दिनुपर्ने माग गरेका छन् ।

आम जनताको शान्ति सुरक्षा र अमनचयनका लागि रातोदिन खटिने संगठनमा नै आँच आउने गरि अभिव्यक्ति दिएका गुरुङलाई कारबाही गर्नका लागि नेपाल प्रहरीका पूर्व प्रमुखहरुले समेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । उनीहरुले एक विज्ञप्ति निकाल्दै भनेका छन्, ‘पदीय हैसियतमा माननीय मन्त्रीज्यूसँग सबैले शालिन, ससंस्कृत र पारस्परिक रुपमा सम्मानजनक व्यवहारको अपेक्षा गरेका हुन्छन् । यसको विपरित माननीज्यूको राजनीतिक कद घटाएको छ भने नेपाल प्रहरीजस्तो गरिमामय र नेपालको सरकारको सबैभन्दा सक्रिय संगठनको नजरबाट माननीयज्यू गिर्नुभएको छ ।’

त्यस्तै पूर्वसुरक्षाकर्मी परिषद्ले पनि मन्त्री गुरुङलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । परिषद्ले मन्त्रीको अभिव्यक्ति फिर्ता लिनुपर्ने र क्षमायाचना माग्नुपर्ने शर्तका साथ अमर्यादिन, असंवेदनशील, अशोभनीय एवं आपत्तिजनक शब्दावली प्रयोग गर्न नहुने जनाएका छन् ।

त्यसबाहेक कांग्रेस सांसद शंकर भण्डारीले एक विज्ञप्ति जारी गर्दै उनले जतिसक्दो छिटो प्रधानमन्त्रीले बर्खास्ती गर्नुपर्ने माग राखेका छन् । उनले विज्ञप्तिमा भनेका छन्, ‘देशको शान्ति सुरक्षा कायम गर्ने जिम्मा लिएको प्रहरी संगठनको प्रमुखलाई नेपाल सरकारका प्रवक्ता तथा सुचना तथा संचार मन्त्रीबाट सार्वजनिक स्थलमा अपशब्द व्यक्त भएकोमा मैले त्यसको घोर भर्त्सना गर्दै प्रधानमन्त्रीले संचार मन्त्रीलाई बर्खास्त गर्न आव्हान गर्दछु ।’

प्रतिक्रिया