‘प्रचण्ड’ले संयमता गुमाएको एमालेको निष्कर्ष


काठमाडौँ – नेकपा एमालेले प्रतिपक्षी दलको नेताले संयमता गुमाएको टिप्पणी गरेको छ । साथै आफ्नो असन्तुष्टि पोख्न समाजलाई उत्तेजित नबनाउन समेत आग्रह गरेको छ ।

बिहीबार बसेको एमाले सचिवालय बैठकमा सरकारको काम कारबाही र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार संसदमा गरेको सम्बोधनबारे छलफल भएको थियो । एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार नयाँ सरकार गठनसँगै सकारात्मक आशा र भरोसा बढेको छ ।

निजी क्षेत्रमा देखिएको आशा र भरोसाको संकेत शेयर बजार परिसूचकमा देखिएको वृद्धि भएको उनले बताए । टीआरसी विधेयक पास हुनु अर्को सकारात्मक पक्षमा रहेको भन्दै उनले भने, ‘सरकार अझ गतिका साथ कामलाई अगाडि बढाओस् भन्ने कुरा बैठकले गरेको छ ।’

साथै पछिल्लो समय समाजमा अराजकताको प्रवृत्ति बढ्न थालेको, विभिन्न देशको घटनाहरूसँग जोडेर चर्चा परिचर्चा हुँदै गरेको र सत्ताबाट बाहिरिएसँगै आवेगपूर्ण प्रतिक्रिया दिन थालेको प्रति पनि आफूहरूको ध्यानाकर्षण भएको उनले बताए । ‘मुलुक असहज अवस्थामा छ, यसलाई सहज तुल्याउँदै जाने सबै राजनीतिक दलको जिम्मेवारी हो’, उनले भने, ‘आफ्नो दलको पोजिसन कहाँ छ भन्ने कुराले मुलुकको संवेदनशील अवस्थाप्रति कसैले पनि गैरजिम्मेवार अभिव्यक्ति दिनुहुन्न । यस्ता कुरालाई कसैले पनि बढवा दिनुहुन्न ।’

माओवादी अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले संसदमा बोल्दा संयम गुमाएर आक्षेप लगाएको एमालेको आरोप छ । प्रधानमन्त्री हुँदाहुँदै वैकल्पिक सरकार बनाउने प्रयास गरेपछि एमाले र काँग्रेस मिलेको भन्दै ज्ञवालीले भने, ‘हाम्रोतर्फबाट कुनै पनि निषेध छैन । तर शायद आफ्नो राजनीतिक भविष्यमाथि अनिश्चयको तुवाँलो मडारिँदै गरेर हो कि पार्टीभित्रै नेतृत्वमा चुनौती आएपछि विषयान्तर गर्न उहाँले समाजले भड्काउने कुरा गर्नुभएको छ ।’

‘बारम्बार उहाँले श्रीलंका, बंगलादेशको कुरा गर्नु हुन्छ । के के त्यही बाटोमा लग्न खोज्नुभएको हो उहाँले रु’, जिम्मेवार नेताहरुले आफ्नो असन्तुष्टि पोख्न समाजलाई यसरी उत्तेजित बनाउन नहुने ज्ञवालीको जोड छ । प्रचण्डले संयम गुमाएको देखिएको भन्दै उनले त्यसो नगर्न आग्रह गरे । एमाले उपमहासचिव ज्ञवालीले भने, ‘अलि बढी नै उहाँ निराश, हतास जस्तो देखिनुहुन्छ । त्यो हतासाको अभिव्यक्ति हो भन्ने लाग्छ ।’

प्रतिक्रिया