टुँडिखेल गौराको २७ वर्ष: यसपालि कसरी भयो ‘हुल्लडबाजहरु’को घुसपैठ ?


काठमाडाैं- सुदूरपश्चिम र कर्णाली प्रदेशवासीको विशेष पर्वका रुपमा मनाइने गौरा हरेक वर्ष राजधानीमा पनि मनाइने गरिन्छ । प्रकृति, संस्कृति, सामाजिकता संरक्षण समूह (प्रसंसा)ले विगत २७ वर्षदेखि काठमाडौंको टुँडिखेलमा विभिन्न कार्यक्रम गरेर यो पर्वलाई धुमधामका साथ मनाउने गर्छ ।

सोही क्रममा प्रसंसाले यो वर्ष पनि टुँडिखेलस्थित सैनिक मञ्चमा सांस्कृतिक कार्यकम, झाँकी गौरा र देउडासहित औपचारिक कार्यक्रम आयोजना गरिरहेको छ ।

राजधानीमा बस्दै आएका सुदूरपश्चिमवासी सहभागी हुने यो कार्यक्रममा यसपालि प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उद्योगमन्त्री दामोदर भण्डारी, एमाले नेता भीम रावल लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

तर, हिजो(सोमबार)को कार्यक्रम सुरु हुनुअघिबाटै होहल्ला गर्दै नाराबाजी भयो । त्यसको सुरुवात कार्यक्रमका उद्घोषकले सभापति देउवा आइपुगेको जानकारी गराएलगत्तै भएको थियो ।

कार्यक्रमा सहभागी त्यो युवाको समूहले प्रमुख अतिथिसमेत रहेका प्रधानमन्त्री ओली र विशिष्ट अतिथि रहेका कांग्रेसका सभापति देउवा कार्यक्रममा पुग्नेबित्तिकै ‘मुर्दावाद’को नारा लगाउँदै होहल्ला गरेका थिए ।

उनीहरुको होहल्लापछि ओलीले आफ्नो भाषण छोट्याएका थिए । उनले आक्रोशित भीडप्रति घुमाउरो असन्तुष्टि राख्दै भनेका थिए, ‘नेपालीको परिचय मेलमिलाप हो । तर कतिपय नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको ख्याल नभएको देख्दा दुःख लागेको छ ।’

त्यसपछि मन्तव्य राख्ने क्रममा देउवा उक्त युवाको समूहप्रति आक्राशित भएका थिए । उनले ‘लाज पनि छैन । अर्काको कार्यक्रम बिथोल्ने ? लाज नभएकाहरु, यही हो नेपालको संस्कृति ? यही हो नेपालको चलन? यही सिकेर आएको ? बदमासहरु’ भन्दै आक्रोश पोखेका थिए ।

ओली र देउवाविरुद्ध नाराजाजी गरेको उक्त समूह नेता भीम रावल बोल्दा भने मौन थियो । उनीहरुले रावलको पक्षमा भने हुटिङ गरेका थिए । उनले बोल्ने क्रममा ‘भीम रावल हाईहाई’ भन्दै नारा लागेको थियो ।

हिजोको ‘हर्कत’ का कारण सुदूरपश्चिमेलीहरुको संस्कृतिमाथि नै हमला भएको भन्दै विभिन्न दिग्गज व्यक्तिहरुले सामाजिक सञ्जालमा लेखिरहेका छन् ।

यो विषयमा आयोजक सक्षमका अध्यक्ष हरिप्रसाद अवस्थीले कार्यक्रमपछि गम्भीर छलफल गरिने बताएका छन् । उनले कार्यक्रम विथोल्ने उद्देश्यका साथ गरिएको कार्य निन्दनीय भएको बताएका छन् । आफूहरुले विगत २७ वर्षदेखि गौरा कार्यक्रम गर्दै आएको स्मरण गर्दै उनले यस्तो कहिले नभएको बताए ।

सुर्खेतका जैशीको नेतृत्वमा ‘बदमास’हरुको समूह
उक्त हुलहुल्लड गर्ने युवाको नेतृत्व सुर्खेतका गोपीकृष्ण जैशीले गरेको पाइएको छ । रातो टिसर्ट लगाएर भिडको अगाडि रहेका उनकै नेतृत्वमा नाराबाजी भएको भिडियोमा देखिएको छ ।

नेकपा माओवादी केन्द्र निकट वाइसीएलका कार्यकर्ता रहेका उनले कार्यक्रम विथोल्ने उदेश्यका साथ उक्त कार्य गरेको आरोप लगाइन थालेको छ । उनको सामाजिक सञ्जाल हेर्दा माओवादीसँग निकट रहेको प्रष्ट हुन्छ भने उनले नेता भीम रावललाई पनि मान्ने गरेको खुल्छ ।

राजावादी युवतीसँग बिहे गरेका जैशीले हिजो साँझ नै ‘टुँडिखेलमा देखिएको युवाहरुको जोसलाई तपाईंहरु के भन्न चाहानुहुन्छ ? भन्दै सामाजिक सञ्जालमा प्रश्न गरेका छन् । उनको सोही पोष्टमा एक प्रयोगकर्ताले ‘तपाईंको प्रस्तुति दमदार थियो’ भनेर कमेन्ट गरेका छन् ।

 

प्रतिक्रिया