बालेनको बदनाम गर्न माओवादी कार्यकर्ताले टुँडिखेलमा देखाएको ‘चटक’ !


काठमाडौं-  अस्ति (सोमबार) गौरा पर्वको अवसरमा प्रकृति, संस्कृति, सामाजिकता संरक्षण समूह (प्रसंसा)ले काठमाडौंको टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गर्ने र होहल्ला गर्ने दुईजना पक्राउ परेका छन् ।

नाराबाजी गर्दै कार्यक्रम बिथोल्न खोजेको आरोपमा सुर्खेतका गोपीकृष्ण जैशी र अछामका रामबहादुर बुढालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंले नाराबाजी गरेको आरोपमा मंगलबार उनीहरूलाई सोधपुछका लागि नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

कार्यक्रमा सहभागी उनीहरुको समूहले प्रमुख अतिथिसमेत रहेका प्रधानमन्त्री ओली र विशिष्ट अतिथि रहेका कांग्रेसका सभापति देउवा कार्यक्रममा पुग्नेबित्तिकै ‘मुर्दावाद’को नारा लगाउँदै होहल्ला गरेका थिए । उनीहरुको होहल्लापछि ओलीले आफ्नो भाषण छोट्याएका थिए । त्यसपछि मन्तव्य राख्ने क्रममा देउवा उक्त युवाको समूहप्रति आक्राशित भएका थिए ।

उक्त हुलहुल्लड गर्ने युवाको नेतृत्व पक्राउ परेका गोपीकृष्ण जैशीले नै गरेको पाइएको छ । भिडको अगाडि रहेका उनकै नेतृत्वमा नाराबाजी भएको भिडियोमा देखिएको छ । नेकपा माओवादी केन्द्र निकट वाइसीएलका कार्यकर्ता रहेका उनले कार्यक्रम विथोल्ने उदेश्यका साथ उक्त कार्य गरेको पाइएको छ ।

माओवादीसँग निकट रहेका उनले सो दिनको हर्कतपछि आफ्नो फेसबुक कभर फोटोमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह‘बालेन’को फोटो राखेका छन् । त्यसअघि भने  उनले माओवादीकै नेतृ पम्फा भूसालसँगको फोटो फेसबुक कभरमा राखेका थिए । यस्तै विभिन्न समयमा उनले माओवादी पार्टीको गुणगान गाएर पोष्टहरु गर्ने गरेको भेटिन्छ ।

त्यसअघि पनि उनले ‘सबै टुटफुट माओवादी एक हुने बेला आएको छ’ भन्दै माओवादी अध्यक्ष पुष्पकमल दाहालसहितका नेताको फोटो कभरमा राखेका थिए ।

 

तर, अस्ति गौरा कार्यक्रम बिथोल्ने उद्देश्यसहित हुलहुज्जत गरेपछि भने उनले आफूलाई काठमाडौं मेयरको समर्थक देखाउन कभर फोटो परिवर्तन गरे । बालेन निकट व्यक्तिहरुका अनुसार जैशी आफूहरुको प्रदर्शनमा कहिले सहभागी भएका छैनन् । तर अहिले जैशीले उक्त हुलहुज्जतको पछाडी बालेनको हात रहेको देखाउन सुनियोजित रुपमा यो कार्य गरेको उनीहरुको आरोप छ ।

राजावादी युवतीसँग बिहे गरेका जैशीले सोमबार साँझ ‘टुँडिखेलमा देखिएको युवाहरुको जोसलाई तपाईंहरु के भन्न चाहानुहुन्छ ? भन्दै सामाजिक सञ्जालमा प्रश्न गरेका छन् । उनको सोही पोष्टमा एक प्रयोगकर्ताले ‘तपाईंको प्रस्तुति दमदार थियो’ भनेर कमेन्ट गरेका छन् ।

उनी आफैले कार्यक्रमस्थलबाट ‘बालेन शाह हाईहाई’ गर्दै नेताहरुको विरुद्धमा नारा लगाउदै फेसबुक लाइभ गरेका छन् । उनले त्यसरी सुनियोजित रुपमा बालेनको बदनाम गर्न यस्तो हर्कत गरेको बताइएको छ ।

माओवादीका कट्टर समर्थक रहेका गोपी कृष्ण जैशीले कार्यक्रम बिथोल्नको पछाडी बालेनको हात रहेको देखाउन भ्रमपूर्ण क्रियाकलाप गरेको बालेनका समर्थहरुले बताएका छन् ।

प्रतिक्रिया