सहकारी छानबिन समितिले रवि लामिछानेसँग बयान लिने


काठमाडौं- सहकारीको बचत अपचलनबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि बोलाउने तयारी गरेको छ । समितिले  भदौ ७ गते बस्ने बैठकमा पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका लामिछानेसँग बयान लिने तयारी रहेको समिति सदस्य लेखनाथ दाहालले जानकारी दिएका छन् ।

समितिले आइतबार रास्वपा सहमहामन्त्री विपिन आचार्यलाई बोलाएर समितिले बयान लिएको थियाे । यस्तै कुमार रम्तेल‚रोशनी गुरुङ लगायतको बयानबाट सभापति लामिछानेविरुद्ध थप प्रमाण बलियो बनाउने समितिको तयारी रहेको उनले बताए  ।

हालसम्म जेलमा रहेका १९ जना र अपचलन भएको भनिएका सहकारीका व्यवस्थापक, सञ्चालक र पदाधिकारी गरी २० जनासँग बयान लिइसकेको छ। गत जेठ १५ गते गठन भएको समितिले सहकारीको रकम अपचलन भएको सम्बन्धमा छानबिन गरी प्रतिवेदन दिन ३ महिनाको समय पाएको छ ।

रवि लामिछानेले जीवी राईसँग मिलेर ग्यालेक्सी टिभी सञ्चालन गर्न विभिन्न सहकारीबाट व्यक्ति र संस्थाको नाममा सहकारीको पैसा अपचलन गरेको आरोप छ । उनीहरूले पोखराको सूर्य दर्शन सहकारीबाट १० करोड, सहारा चितवन सहकारीबाट ११ करोड ७१ लाख‚ बुटवलको सुप्रिम सहकारीबाट १० करोड ७४ लाख गरी ३२ करोड ४५ लाख गोर्खा मिडियाको खातामा ट्रान्सफर  गरेको आरोप लागेकाे हाे ।

 

 

 

प्रतिक्रिया