डा गोविन्द केसीले राखे ६ बुँदे माग, पूरा नभए अनसन बस्ने चेतावनी


काठमाडौं- चिकित्सा शिक्षा सुधार अभियन्ता भनेर चिनिएका डा. गोविन्द केसीले पुन: अनसन बस्ने चेतावनी दिएका छन् । शुक्रबार उनले विभिन्न ६ माग राख्दै आमरण अनसन बस्ने चेतावनी दिएका हुन् ।

उनले एक विज्ञप्ति जारी गर्दै हालै सर्वोच्च अदालतको संयुक्त इजलासबाट चिकित्सा शिक्षा ऐन र नियमावलीका कतिपय व्यवस्थाहरूलाई निष्प्रयोजित गर्ने गरि र संवैधानिक इजलासको क्षेत्राधिकार मिचेर गरिएको फैसलाले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

‘सर्वोच्चको सो फैसलाले मेडिकल कलेज सञ्चालन गर्न मापदण्ड र प्रक्रिया नपुगेका दर्जनौ अस्पतालहरूलाई ऐन विपरीत कलेज संचालन गर्न प्रोत्साहन मिल्नेछ । फलस्वरूप मेडिकल शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तरमा ठुलो रास आई आम नेपालीको स्वास्थ्यमा प्रतिकुल असर पर्ने निश्चित छ भने ती सेवाहरू महंगो, सहर केन्द्रीत भई ग्रामीण भेगका लगायत सबै निम्न मध्यम वर्ग र विपन्न वर्गका नागरिक र योग्य विद्यार्थीहरूको पहुँचबाट बाहिर हुनेछ । तसर्थ सो फैसलाको गम्भीर पुनरावलोकनको माग गरिन्छ’ विज्ञप्तिमा भनिएकाे छ ।

यस्ता छन् माग:

१) हालै चिकित्सा शिक्षा ऐन र नियमावलीका कतिपय व्यवस्थाहरूलाई निष्प्रयोजित हुने गरि र संवैधानिक इजलासको क्षेत्राधिकार मिचेर सर्वोच्च अदालतको संयुक्त इजलासले गरेकोे फैसलालाई पुनरावलोकन गर्न माग गरिन्छ।

२) निर्मला कुर्मीको हत्याका मुख्य आरोपी बादशाह कुर्मीलाई प्रदेश मंत्री पदबाट तुरुन्त हटाएर उनीमाथि चलिरहेको छानवीन तथा अनुसन्धानलाई निष्पक्ष र तिब्र बनाउन सरकार तथा नेपाली कांग्रेसको ध्यानाकर्षण गराइन्छ ।

३) नक्कली प्रमाणपत्र सम्बन्धि अपराधमा मेडिकल कलेज व्यवसायी तथा सांसद सुनिल शर्मालाई तुरुन्त मुद्दा चलाई आवश्यक कारबाही अगाडि बढाउन जोडदार माग गरिन्छ ।

४) सशस्त्र द्वन्दकालमा भएका मानवताविरोधी जघन्य अपराध र युद्ध अपराधका सबै दोषीहरूलाई दण्डित र पीडितहरूको लागि पूर्ण न्याय र क्षतिपूर्ति सुनिश्चित गरियोस् । तथाकथित राजनीतिक सहमतिमा कुनै दोषीले उन्मुक्ति पाउनु हुँन्न।

५) सबै नेपालीलाई निशुल्क औषधि-उपचारको व्यवस्था गर।

६) चिकित्साा शिक्षामा उल्लिखित र विगतमा हामीसँग शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि भएका सम्झौताहरूक‍ो शिघ्र कार्यान्वयन गर।

प्रतिक्रिया