

नेपाल पक्ष प्रश्न सोध्दै आत्मालोचनाको ‘मुड’मा

काठमाडौं– नेकपा एमालेका नेता माधवकुमार नेपाललगायत चार जना नेता पार्टीले सोधेको स्पष्टिकरणको उत्तर दिन तयार भएको छ।
महासचिव ईश्वर पोखरेलले संगठनका तर्फबाट सोधेको स्पष्टिकरणको पत्र बुझेपछि सोधिएका प्रश्नको उत्तरसहित आत्मा आलोचना गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले लिएका निर्णयमा पनि प्रश्न गर्ने भएको छ।
नेपालसहित उपाध्यक्ष भिम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेसँग स्पष्टिकरण सोधिएको थियो। स्पष्टिकरणका क्रममा १९ बुँदेमा उठाइएका ओलीविरुद्धका प्रश्न, सभा भेला, समानान्तर कमिटी गठनका विषयमा स्पष्टिकरण सोधिएको थियो।
तीन दिनको समयसीमा तोकिए बुझाइएको स्पष्टिकरणको औचित्य बुधबार सकिँदैछ। त्यसअघि जवाफ लेख्दै केन्द्रीय कमिटीको बैठक पार्टी कार्यालय धुम्बाराहीमा हुनुपर्ने, संसदीय दलको बैठक सिंहदरबारमा राख्नुपर्ने र त्यहिँ जवाफ पेस गरिने उत्तर दिने तयारी भएको नेपाल पक्षका एक नेताले बताए।
उनका अनुसार नेपालसहितका नेताले आत्मा आलोचना गर्ने तर ओलीले चालेका कदम, २८ फागुनमा गरिएको एक्लौटी निर्णय फिर्ता लिनुपर्ने अडान नेपाल पक्षले राख्ने भएका छन्।
‘विधि विधानको विरोधमा हामी छैनौं। तर पद्दतीअनुसार अध्यक्ष ओलीले पनि २८ फागुनको निर्णय फिर्ता लिनुपर्छ। गम्भीर समिक्षा गर्दै एक ढिक्का हुने ठाउँ छ’, स्रोतले भन्यो।
सर्वोच्च अदालतले पार्टी ब्युँताएपछि नेपाल पक्ष समानान्तर गतिविधिमा सक्रिय रहेको छ भने एमाले एकीकरणको निम्ति ३ जेठ ०७५ भन्दा अगाडिको अवस्थामा पुग्नुपर्ने नेपाल पक्षको माग रहेको छ।

