‘दलाल’लाई पैसा दिएर १४ वर्षीया नाबालिकालाई श्रीमती बनाउने चिनियाँ नागरिकको रहर जागेपछि…


कास्की – चिनियाँ नागरिकसँग विवाह गरिदिएको आरोपमा दुई महिलासहित तीनजना पक्राउ परेका छन् ।

कास्की प्रहरीका अनुसार पक्राउ परेका दुई महिलालाई पैसा दिएर ती चिनियाँ नागरिकले बालिकासँग बिवाह गरेको खुलेको छ । लमजुङ घर भई पोखरा–१६ बस्ने २२ वर्षीय सरु बिक र पोखरा–२२ आर्वाकी ३४ वर्षीय भगवती अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो । विक र अधिकारीले चिनियाँ नागरिकसँग दलाली गर्दै रकम असुलेको खुलेको छ ।

उनीहरूसँगै चीनको हुनान प्रान्तका ३१ वर्षीय झी मिङ चेन पनि पक्राउ परेका छन् । उनी पोखरा–६ स्थित एक गेस्ट हाउसमा बस्दै आएका थिए ।

पक्राउ परेका दुई महिलाले एक १४ वर्षीय बालिकालाई फकाएर ती चिनियाँ नागरिकसँग विवाह गरिदिएका थिए ।

प्रहरीका अनुसार प्रलोभनमा परेकी बालिकालाई उनीहरूले साउन १३ गते चिनियाँ नागरिकसँग विवाह गराइदिएका थिए । विवाहपछि ती चिनियाँ नागरिकले बालिकालाई अर्को होटलमा नै बन्धक बनाएर राखेका थिए ।

बालिका त्यहाँबाट भागेपछि मात्र घटना सार्वजनिक भएको कास्की प्रहरीले जनाएको छ । पीडित बालिकाका अभिभावकसँगको समन्वयमा उनको उद्धार गरिएको थियो ।

उनीहरूमाथि जिल्ला अदालत कास्कीबाट मानव वेचबिखन तथा ओसारपसार मुद्दामा पाँच दिन म्याथ थपेर अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया