

रेशम चौधरीको रिहाइको माग गर्दै थारु अगुवाहरुले भने- ‘हामी पनि यो देशका नागरिक हौं’

काठमाडौं – टीकापुर घटनामा फौजदारी मुद्दा खेपिरहेका सांसद रेशम चौधरीको रिहाइको माग गर्दै काठमाडौंको माइतीघरमा थारु अगुवाहरुले धर्ना दिएका छन् ।
थारु कल्याणकारिणी सभाले २०७२ सालमा भएको टीकापुर घटनामा फौजदारी मुद्दा लागेकाहरुको मुद्दा फिर्ता र दोषी ठहर भई जेलमा रहेकाहरुको रिहाइको माग गर्दै आइतबारदेखि धर्ना दिएका हुन् ।
धर्नामा बसेका थारु कल्याणकारिणी सभाका महामन्त्री प्रेमीलाल थारुले टीकापुर घटना राजनीतिक मुद्दा भएकाले यसलाई फौजदारी मुद्दाको व्यवहार गर्नु नहुने बताए ।
‘हामी पनि यो देशका नागरिक हौं, भूमि पुत्र हौं, हामो मुद्दा राजनीतिक मुद्दा भएकाले राजनीतिक हिसाबले सम्बोधन गर्नुपर्छ झुटा मुद्दा फिर्ता लिनुपर्छ’ उनले भने, ‘जेलमा रहेका रेशम चौधरीसहित सबैलाई रिहा गर्नुपर्छ ।’
२०७२ सालमा प्रदेश विभाजनमा असन्तुष्ट थारु समुदायको आन्दोलनका क्रममा टीकापुरमा नेपाल प्रहरीका एसएसएसपी लक्ष्मण न्यौपानेसहित ७ जनाको मृत्यु भएको थियो ।
सो घटनामा सांसद रेशम चौधरी दोषी ठहर भई हाल जेलमा छन् । अन्य थारु अगुवाहरु पनि कोही जेलमा छन् भने कोही फरार रहेका छन् ।

