भारतबाट आएको टोलीले पनि भेटेन बेपत्ता बस र यात्रु


काठमाडौं- नारायणगढ-मुग्लिङ सडकखण्ड अन्तर्गत सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा बेपत्ता भएका बस र यात्रुको खोजी लागि भारतीय टोली आएको ६ दिन पुगेको छ । एक साताको लागि भनेर आएको उद्धार टोलीबाट पनि अहिलेसम्म केही उपलब्धि नभएको सशस्त्र प्रहरी बलका डीएसपी शैलन्द्र थापाले बताए । केही उपलब्धि नलागेसँगै उद्धार टोली फर्किने या थप समय बस्ने भन्नेबारे छलफल भइरहेको उनले जानकारी दिए ।

भारतबाट ल्याइएको ३ सोनार डिभाइस, ४ जना गोताखोर र अन्य प्राविधिक टोलीसहित नेपाली सुरक्षाकर्मी खोजीमा निरन्तर जुटिरहेका छन् । गत असार २८ गते बिहानदेखि त्रिशुलीमा बेपत्ता बस अझै भेटिएका छैनन्  ।

बससँगै हराइरहेका ६२ यात्रुमध्ये हालसम्म २५ जनाको शव भेटिएको छ । तीमध्ये १८ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी श्रीराम भण्डारीले जानकारी दिए । ३७ जना अझै बेपत्ता छन् । दुवै बसमा गरी ६५ यात्रु रहेकामा ३ जना पौडिएर बाँचेका थिए ।

प्रतिक्रिया