रुसी सेनामा ३४ नेपालीको मृत्यु, ६ जना युक्रेनमा बन्धक


काठमाडौं – रुसी सेनामा भर्ती भएकामध्ये अहिलेसम्म ३४ नेपालीको मृत्यु भएको पुष्टि भएको छ । यस्तै, पाँच जना घाइते भएर उतै उपचाररत रहेको परराष्ट्रमन्त्री आरजु राणा देउवाले जानकारी दिएकी छन् ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बुधबार बसेको बैठकमा उनले उक्त जानकारी दिएकी हुन् । मृत्यु भएकाहरूको शव नेपाल झिकाउन २२ जनाको डीएनए परीक्षणका लागि पठाइएको छ । रुसी सेनाको पक्षबाट लडिरहेका ६ जना नेपाली युक्रेनी सेनाले बन्धक बनाएर राखेको पनि उनले बताइन् ।

रुसी सेनामा भर्ती भएकामध्ये अहिलेसम्म १५० नेपाली स्वदेश फर्किसकेका छन् । हालसम्म ३२३ जनाको उद्धारको लागि परराष्ट्र मन्त्रालयमा निवेदन परेको जनाइएको छ । तीमध्ये सम्पर्कमै नरहेको भनेर ११६ जनाको उद्धारका लागि उनीहरूका परिवारका तर्फबाट परराष्ट्र मन्त्रालयमा निवेदन दिएका छन्। उनीहरूको उद्धारका लागि पहल भइरहेको मन्त्री आरजु राणाले बताइन् ।

यस्तै, इजरायल हमास युद्धमा परेर अहिले हमासको नियन्त्रणमा रहेको भनिएका कञ्चनपुरका विपिन जोशीको उद्धारका लागि पनि नेपाल सरकारले बहुपक्षीयस्तरमा कूटनीतिक पहल जारी राखेको उनले जानकारी दिइन् । पछिल्लो समय बांग्लादेशमा सरकारी जागिरमा कोटा प्रणालीलाई लिएर भड्केको हिंसाका कारण अहिलेसम्म त्यहाँ रहेका एक हजार ४०० नेपाली विद्यार्थी स्वदेश फर्किसकेका पनि उनले बताइन् ।

प्रतिक्रिया