त्रिशुलीमा बस खस्दा-खस्दै हामफालेका यात्रुको बयान : म बाँचे, सँगैका साथी बेपत्ता भए


काठमाडौं– शुक्रबार बिहान चितवनमा पहिरो जाँदा दुई त्रिसुलीमा खसे ।

दुई बसमध्ये एक थियो,काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपती डिलक्स  ।

त्यही बसबाट हाम फालेर ३ जना ज्यान जोगाउन सफल भए । ६२ जनाको अवस्था अझै अज्ञात छ ।

हामफालेर आफ्नो ज्यान जोगाउनेमा रौतहटको देवाही गोनाहीका दुई जना र वृन्दावन नगरपालिकाको सिसवा धमौराका एक छन् ।

उनीहरुलाई उद्धार गरेर चितवन पुर्याइएको छ ।

बसबाट हाम फालेर ज्यान जोगाएका एक यात्रुको भिडियो बाहिरीएको छ । जसमा उनले बस खस्न थालेपछि आफू क्याबिनतिरको झ्यालबाट हाम फालेर ज्यान जोगाएको बताएका छन् ।

आफूसँगैका यात्रु र आफ्ना झोलासहितका सामान बेपत्ता भएकोमा उनी दुखि छन् ।

उनीसँगै रहेका अर्का यात्रुले ज्यान जोगिनु ठुलो कुरा भएको भन्दै भगवानलाई सम्झिएको भिडियोमा देखिन्छ ।

आज बिहान साढे तीन बजेतिर वीरगञ्जबाट काठमाडौंतर्फ आइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्सको बस भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमतालमा पहिरोमा परेको थियो । दुवै बस त्रिसुली नदीमा खसेको खुलेको छ ।

बस र यात्रुको खोजीकार्य जारी छ ।

शसस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी कुमार न्यौपाने अहिलेसम्म बस र यात्रुको अवस्था अज्ञात रहेको बताए । घटनास्थलमा टेलिफोन सम्पर्क गर्न समेत समस्या भएको डीआईजी न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया