
सक्षमलाई मात्र सरकारमा पठाउने एमाले सचिवालय बैठकको निर्णय
काठमाडौं– सत्ताको नेतृत्व गर्न गइरहेको नेकपा एमालेले सक्षम र परिणाम दिन सक्ने टिमलाई मन्त्रिपरिषद्मा पठाउने निर्णय गरेको छ ।
बुधबार बसेको सचिवालय बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारलाई प्रभावकारी बनाउनका लागि सक्षम र परिणाम दिन सक्ने टिमलाई मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको हो ।
असार २८ गते प्रधानमन्त्रीको विश्वासको मत लिने काम पछि सरकार गठनको प्रक्रिया सुरु हुने र त्यसपछि विस्तृत रुपमा मन्त्रिपरिषद्मा पठाउने व्यक्तिहरूका विषयमा छलफल हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उनले एमाले–कांग्रेसले बराबरीको हैसियतमा सरकार सञ्चालन गर्ने र अन्य दललाई सङ्ख्याका आधारमा प्रतिनिधित्व गराउने बताए ।
ज्ञवालीले केपी ओलीको नेतृत्वमा सरकार गठन गर्नको लागि कुनै कानूनी जटिलता नभएको भन्दै संविधानको धारा ७६ (२) अनुसार कै नयाँ सरकार गठन हुने बताए ।



कागजपत्र |
