अख्तियारकी आयुक्त सुमित्रा अमात्य : जसले मेयर चिरीबाबु महर्जनसँग बदला लिन खोजिन्


काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सुमित्रा अमात्यले आफ्नो पदको दुरुपयोग गरेको पाइएको छ ।

आफुले भनेको नमान्दा उनले ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनलाई बयानका लागि अख्तियारमा बोलाएकी छन् ।

बुधबारमात्रै मन्दिरको जग्गा मिचेको भन्दै ललितपुर महानगरपालिकाले आयुक्त डा. सुमित्रा अमात्यको घरको पर्खाल भत्काएको थियो ।

ललितपुर महानगरपालिका–१० चाकुपाटस्थित डा. अमात्यको घरको कम्पाउण्ड पर्खाल बुधबार दिउँसो महानगरपालिकाको टोलीले डोजर लगाएर भत्काएको महानगरका प्रवक्ता राजु महर्जन बताए ।

घर रहेको जग्गा १५ आना ३ पैसा रहेको र यो अमात्य दम्पतीले २०७८ असोज १ गते किनेको अभिलेखबाट देखिएको छ ।

तर स्थानीय बासिन्दाले मन्दिरको जग्गा मिचेको भन्दै ललितपुर महानगरपालिकामा उजुरी दिनुका साथै अतिक्रमण हटाउन माग गर्दै आएका थिए ।

स्थानीय सम्पदा संरक्षण अभियन्ता र गुठियारले जग्गा मिचेको उजुरी दिएपछि सम्बन्धित घरधनीलाई भत्काउन आग्रह गरेको तर नमानेपछि डोजर लगाएको प्रवक्ता महर्जनले बताए ।

अमात्यलाई पटक–पटक महानगरले पर्खाल भत्काउन जानकारी गराएको थियो ।

तर उनले आफु शक्तिशाली निकायमा भएको भन्दै अटेरी गरेपछि महानगर एक्सनमा उत्रिन बाध्य भएको हो ।

पर्खाल भत्काएलगत्तै अख्तियारले मेयर महर्जनलाई आर्थिक दुरुपयोग गरेको भन्दै पत्र काटेको छ ।

अख्तियारले बुधबार पठाएको पत्रमा भनिएको छ,‘२०७७ सालमा आएको बाढी पहिरोबाट धापाखेल २४ मा बाढी पीडितलाई १ लाख ५० हजार र दुई लाख ५० हजार नगर कार्यपालिकाको निर्णय विपरित नगर प्रमुखले एकलौटी ढंगबाट आर्थिक सहयोगको नाममा रकम बाडेर महानगरपालिकालाई हानी हुने काम गरेको ।’

जसका लागि असार २६ गते आयोगको कार्यालयमा चिरीबाबु महर्जनलाई उपस्थित हुन भनिएको छ ।

२०७७ सालको घटनालाई लिएर आयुक्त अमात्यले पर्खाल भत्काएको आक्रोशमा मेयर महर्जनलाई दुख दिने खोजेको महानगरका कर्मचारीहरु बताउँछन् ।

आयुक्त अमात्यमाथि अख्तियारका गम्भीर सुचना आरोपीसम्म पुर्याएको आरोप समेत छ ।

 

प्रतिक्रिया