नेकपा एस महाधिवेशनः अध्यक्षका लागि नेपाल र भुसालको दाबी कायमै, सर्वसम्मत गराउने प्रयास जारी


काठमाडौं – नेकपा एकीकृत समाजवादीको १०औँ राष्ट्रिय महाधिवेशनमा बिहीबार निर्वाचन प्रक्रिया शुरु हुँदै छ।

अध्यक्षका लागि माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालले दाबी कायमै राखेका छन् । एमालेबाट विद्रोह गरी पार्टी बनाउन आफ्नो भूमिका महत्त्वपूर्ण भएको दाबी गर्दै नेपालले आफ्नो नाममा सर्वसम्मत गराउने प्रयास जारी राखेका छन्।

महासचिव भुसालले भने पार्टी रूपान्तरणका लागि नेतृत्व हस्तान्तरणमा जोड दिएका छन् । सहमति नभए अध्यक्षका लागि यी दुई नेताबीच प्रतिस्पर्धा हुनेछ।उपाध्यक्ष बेदुराम भुसालले सर्वसम्मत अध्यक्ष चयन गर्ने प्रयास भइरहेको बताए।

महासचिवका लागि उपमहासचिव गंगालाल तुलाधर, प्रकाश ज्वाला र जगन्नाथ खतिवडा आकांक्षी छन्।

महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्ने जिम्मेवारी निर्वाचन मण्डललाई दिएको छ। मनोनयन दर्ता गर्ने, दाबी विरोध तथा उमेदवारी फिर्ता लिने समय, मतदानको कार्यसूची बिहीबारलाई तोकिएको छ । पार्टी केन्द्रीय कमिटी, अनुशासन र लेखापरीक्षण कमिटीले निर्वाचन निर्देशिका निर्माण गरेको छ।

प्रत्येक जिल्लाबाट कम्तीमा एक जना सदस्य केन्द्रीय कमिटीमा प्रतिनिधित्व रहने सुनिश्चितता कायम गरिएको छ । सबै निर्वाचन क्षेत्रबाट केन्द्रीय कमिटीको निर्वाचन गर्दा २० प्रतिशत २५-४५ वर्ष उमेर समूहको आरक्षण गर्नुपर्ने निर्देशिकामा उल्लेख छ।

महाधिवेशनले २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ। एक हजार ८४९ प्रतिनिधिलाई विद्युतीय उपकरणबाट मतदानका लागि प्रशिक्षण दिइएको छ ।

प्रतिक्रिया