इपिसेन्टर भिभान्ताः जहाँ बन्यो कांग्रेस र एमालेबीच सत्ता गठबन्धन गर्ने यस्तो सहमति


काठमाडौं – प्रतिनिधि सभाका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) बिच सोमबार मध्यरातमा सत्ता सहकार्यका लागि सहमतिमा हस्ताक्षर गरेका छन् ।

ललितपुरको झम्सिखेलमा रहेको होटल भिभान्तामा भएको छलफलपछि उक्त सहमतिपत्रमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेको जनाइएको छ ।

उक्त सहमतिपत्रमा मन्त्रालय, प्रदेश भागबन्डा, सरकारको नेतृत्वको समयावधिलगायतका विषयमा सहमति भएको जनाइएको छ । तर, उक्त सहमतिपत्र भने आज (मंगलबार) मात्रै सार्वजनिक गर्ने तयारी गरिएको छ ।

सहमतिअनुसार एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारलाई दिएको समर्थन फिर्ता लिने र मंगलबार नै नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाइने पनि जनाइएको छ । त्यसका लागि एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाले मध्यरात राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शितल निवास पनि पुगेका थिए ।

स्रोतका अनुसार शीर्ष नेताको सहमतिमा सुरुको डेढ वर्ष एमाले अध्यक्ष केपी ओली नेतृत्वमा सरकार बन्नेछ । ओली नेतृत्वको सरकारमा एमालेले प्रधानमन्त्री, अर्थमन्त्रीसहित ९ वटा मन्त्रालयको नेतृत्व गर्नेछ भने कांग्रेसले गृहमन्त्रीसहित १० वटा मन्त्रालय लिनेछ ।

त्यस्तै सहमति अनुसार अब प्रदेश अन्तर्गत एमालेले कोशी, लुम्बिनी र कर्णालीमा सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिममा सरकारको नेतृत्व लिनेछ ।

मधेशमा भने मधेशवादी दललाई नेतृत्व दिने सहमति भएको छ।

यी दुई दलले संविधानको धारा ७६ को उपधारा दुईअनुसार सरकार गठन गर्ने गरी रणनीति बनाएका छन् ।

यी दुई दलबीचको सहमतिका लागि कांग्रेसबाट रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की खटिएका थिए भने एमालेबाट शंकर पोखरेल, प्रदीप ज्ञवाली र रमेश बडाल जुटेको पनि जनाइएको छ ।

प्रतिक्रिया