बालेन र रविका असन्तुष्ट नेता मिलेर नयाँ दल खोल्ने तयारी !


काठमाडौं – सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालको पछिल्लो अभिव्यक्तिसँगै रास्वपाभित्रको असन्तुष्टी बाहिर आएको छ । सभापति रवि लामिछानेको बिग्रँदो छवि र ‘म वाद’ छविका कारण महामन्त्री ढकालले काठमाडौं महानगर मेयर बालेन्द्र (बालेन) शाहसँग मिल्ने संकेत देखाएका छन् ।

पार्टीभित्रको राजनीतिक यात्राको समीक्षाको प्रतिवेदन पार्टी कार्यालयमा दर्ता गराउँदै महामन्त्री ढकालले जस्ताको तस्तै सार्वजनिक गर्नुपर्ने माग समेत गरेका छन् । ढकालले प्रतिवेदनमा रास्वपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको साथमा सत्ताका लागि सम्झौता गर्नुभन्दा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग सहकार्य गर्नु हितकर हुने समेत सुझाव दिएसँगै बालेनले पार्टी खोल्ने सम्भावना बढ्दै गएको हो ।

वैकल्पिक शक्तिको रुपमा स्थापना भएको रास्वपाका सभापति रवि लामिछाने ‘काण्ड’हरुमा रुमिलिँदै गएको अवस्था र चुलिँदै गएको अलोकप्रियतासँगै मुलुकमा वैकल्पिक राजनीतिक दलको महसुस हुन थालिरहेको बेला रास्वपा महामन्त्री ढकालको उक्त अभिव्यक्तिले बालेन मूल राजनीतिमा आउने संकेत पुष्टी भएको हो ।

मुलुकको भावि नेतृत्वको स्थानमा बालेनलाई देख्न चाहाने शुभचिन्तकहरुले राजनीतिक दल खोल्नका लागि दिएको सुझावलाई बालेनले अहिलेसम्म कुनै नकारात्मक प्रतिक्रिया नदिनु भविष्यमा राजनीतिक दल खोलेर मूल राजनीतिमा आउने संकेत हो । बालेनको नजिक रहेर काम गर्दै आएका एकले भने, ‘अबको कदम राजनीतिक नै हो, उहाँप्रति देखिएको समर्थनलाई सांगठनिक रुपमा अगाडि बढाउनु जरुरी छ, आगामी निर्वाचनका लागि समय बाँकी छ, उहाँ मेयर नै हुनुहुन्छ, तर निकट भविष्यमा आगामी राजनीतिक कदमबारे कुनै न कुनै निर्णय हुन्छ ।’

स्थानीय निर्वाचनको समयसम्म बालेनकै टिममा रहेर सांसद बन्ने आश्वासनका साथ रास्वपा प्रवेश गरेका गणेश कार्की पछिल्ला दिनमा रास्वपा र विशेष गरी सभापति लामिछानेको कार्यशैलीप्रति असन्तुष्ट रहिरहेको अवस्थामा महामन्त्री डा. ढकालको समेत बालेनप्रति सकारात्मक अभिव्यक्ति आउनु कुनै अन्यथा देखिँदैन ।

डा. ढकालको अभिव्यक्ति आउनासाथ कार्कीले ढकालको प्रतिवेदनप्रति समर्थन जनाएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्,फेसबुक जस्ता सामाजिक सञ्जालमा नै खुल्ला बहस गर्ने सोचको पक्षपाती हुँ । हाम्रा महामन्त्रीले पनि सोही बमोजिम गर्नु भएकोमा दुःखी छैन म ।

रह्यो कुरा पार्टीको हालको अवस्थाको बारेमा उहाँको समीक्षाको, त्यसमा धेरै कुरामा सहमत छु । पार्टीको विधि, चरित्र र बाटोको बारेमा मैले उठाइरहेको विषयमा आइपुग्नु भएकोमा स्वागत छ । सँगसँगै प्रश्न छन्, यो अवस्थामा पुग्यो कसरी ? पार्टीले आफ्नो चरित्र बिर्सिन उहाँ स्वयम्को योगदान कति रह्यो ? संगठन अस्थिर र जथाभावी कसले बनायो ? आफ्नालाई अवसर दिन विधि मिचि मिचि पार्टी कार्यालयमा नै आन्दोलन समेत गर्न उक्सायो कसले ? एउटा सांसद पदका लागि विधि र चरित्रमा अतिक्रमण गर्न शुरू कसले गरायो ? यी र यस्ता धेरै प्रश्नको सहि जवाफ अब खोज्न ढिलो गर्न हुन्न ।’

पछिल्लो समय रास्वपामा आन्तरिक विवाद चर्किँदो छ । सभापति लामिछानेले पार्टीको सहमतिबिना एकल निर्णय लिन थालेपछि विवाद चर्किँदै गएको हो । सरकारमा सहभागीताको विषयमा पनि रविले आफूलाई मात्र केन्द्रमा राखेको सोही पार्टीका सांसदहरुले आरोप लगाउँदै आइरहेका छन् ।

… र यो पनि…

रविको छवि र कर्मले रास्वपा विभाजनको संघारमा, को–को रविप्रति रुष्ट ?

प्रतिक्रिया