
१० हजारले अवलोकन गरे आँप मेला, ३२ हजार किलो बिक्री
काठमाडौं- नेपालमा पहिलोपटक भएको आँप मेला उत्साहजनक उपस्थितिमा सम्पन्न भएको छ। किसान भेन्चर र काठमाडौं अर्गानिक्सको संयुक्त आयोजनामा असार ७ देखि ९ गतेसम्म काठमाडौं र ललितपुरका विभिन्न स्थानमा मेला भएको थियो ।
मेला अवधिभर १० हजार जनाले अवलोकन गरेको र ३२ हजार किलो आँप बिक्री भएको आयोजकले जनाएको छ । मेलामा सर्लाही, सप्तरी, र सिराहाका ५० जना किसानहरूबाट प्रत्यक्ष खरिद गरेर ल्याइएका विभिन्न प्रजातिका आँपहरू प्रदर्शनीमा राखिएका थिए ।
मेलामा आँपको अचार बनाउने, प्रशोधन गर्ने प्रविधि पनि राखिएका थिए। प्रख्यात शेफ सन्तोष शाह पनि अन्तिम दिन द गार्डेन झम्सिखेलमा नेपाल म्याङ्गो फेस्ट हेर्न आउनुभएको थियो साथै विभिन्न सेफहरुले पाउडर, स्टिकी राइस, आँप स्मृदि, सुख्खा आँप क्रस जस्ता ५० भन्दा बढी आँपबाट बन्ने उत्पादनहरु प्रदर्शन गरी आफ्नो पाक कौशल प्रस्तुत गरेका थिए ।
नेपालमै विभिन्न प्रजातिका आँप पाइने भएता पनि आँपको मौसममा भारतीय उत्पादनले नेपाली बजार कब्जा गरिरहेको अवस्थामा नेपाली आँपको प्रचलन बढाउन, किसानलाई प्रोत्साहन गर्न र उपभोक्तालाई विषादीरहित स्वच्छ आँपको पहुँच पुर्याउन मेलाको आयोजना गरिएको आयोजकले जनाएको छ।
‘पहिलो आँप मेला भव्यताका साथ सम्पन्न भयो । आगामी वर्ष यो भन्दा उत्कृष्ट मेलाको आयोजना गर्नेछौँ। जहाँ अहिलेभन्दा बढी किसानसँग समन्वय गरी धेरै सहरमा धेरै भेराइटी, सेल्स काउन्टर र रमाइला कार्यक्रमहरु आयोजना हुनेछन्,’ आयोजक किसान भेन्चरका सीईओ राजेश कार्कीले बताए ।
आगामी वर्ष १०० टन आँप मेलामा बिक्री गर्ने लक्ष्य राखिएको जानकारी उनले दिए ।



कागजपत्र |
