आजदेखि उपत्यकावासीले मेलम्चीको पानी पिउन नपाउने


काठमाडौं- मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गर्न लागेको छ । मेलम्ची नदीको बहाव बढेर नदीमा बाढी आई धमिलिन थालेपछि आयोजना बन्द गर्न लागिएको हो ।

समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले मेलम्चीमा बाढीसँगै पानी धमिलिन थालेको बताए । आयोजनाको संरचनालाई सुरक्षित गर्न आजैदेखि बन्द गर्न लागिएको उनले जानकारी दिए ।

“नदी नधमिलिएसम्म उपत्यकावासीलाई खानेपानीको आपूर्ति सहज बनाउन आयोजना सञ्चालनमा राखेका थियौँ,” उनले भने, “नदीमा बाढी आउन थालेपछि आजदेखि बन्द गर्ने निर्णय गरेका छौँ । अब वर्षा कम भएपछि आयोजना पुनः सञ्चालन हुनेछ ।”

गएको जेठ ३१ गते मेलम्ची खानेपानी आयोजना बन्द गर्ने भनिएको थियो । तर, ठूलो वर्षा नहुँदा पानी बन्द गरिएको थिएन ।

समितिले गएको शुक्रबार पनि मेलम्ची बन्द गर्ने तयारी गरेको थियो । त्यति बेला नदीमा पानीको बहाव नबढेकाले आयोजना सञ्चालन गरिएको लामिछानेले बताए ।

उनका अनुसार, परामर्शदाता तथा एसियाली विकास बैंक (एडीबी) ले मनसुनी जोखिमबाट आयोजनालाई जोगाउन मेलम्ची बन्द गर्न सुझाव दिइरहेका छन् । “हामीले पटक–पटक मेलम्ची बन्द गर्ने तयारी गरे पनि हालसम्म बन्द गरिएको थिएन । पानी धमिलिन थालेपछि आजदेखि बन्द गर्दै छौँ,” लामिछानेले भने ।

उनका अनुसार, मनसुन अवधिमा विपत्तिको जोखिम कम भए मात्र मेलम्चीको पानी पठाउन पुनः सुरु गर्ने समितिले तयारी गरेको छ ।

मनसुन सकिएपछि मात्र उपत्यकावासीले फेरि मेलम्चीको पानी पाउनेछन् । मनसुनजन्य विपत्तिबाट आयोजनाको हेडवर्क्समा हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका निम्ति सरकारले वर्षा सुरु भएसँगै आयोजना बन्द गर्ने गर्छ । वर्षा सकिएपछि खोल्ने गर्दै आएको छ ।

प्रतिक्रिया