

‘कार्यकर्ता भेला चलिरहेको थाहा पाउँदापाउँदै प्रधानमन्त्रीले संसदीय दलको बैठक बोलाउनु भयो’

काठमाडौँ – प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीले बिहीबार बिहानका लागि बोलाएको संसदीय दलको बैठकमा वरिष्ठ नेता माधव नेपाल पक्षले समय अनुकूल नभएकाले जान नसक्ने बताएको छ ।
नेपाल समूहका नेताहरूले संसदीय दलको बैठकबारे आज नै जानकारी प्राप्त भएको तर समय अनुकूल नभएकाले जान नसक्ने बताएका हुन् । एमाले संसदीय दलका नेता ओलीले बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा समसामयिक राजनीति र पार्टीभित्रको विवादको विषयमा छलफल गर्नका लागि भन्दै संसदीय दलको बैठक बोलाएका छन् ।
एमाले सचिव योगेश भट्टराईले आजमात्र मोबाइलमा सूचना आएको बताए । राष्ट्रिय कार्यकर्ता भेला चलिरहेको थाह पाउँदापाउँदै संसदीय दलको बैठक बोलाइएकोले आफूहरू उपस्थित हुन नसक्ने भट्टराईले बताए ।उनले भने ‘संसदीय दलका नेता, प्रधानमन्त्री, संसदीय दलको कार्यालयलाई यो कुरा राम्रोसँग जानकारी थियो कि एमालेको राष्ट्रिय कार्यकर्ता भेला भइरहेको छ । संघीय सांसद, प्रदेश सांसद र संसदीय फाँटका व्यक्तिहरूको यहाँ उपस्थिति छ भन्ने उहाँहरूलाई राम्रोसँग थाह थियो ।’
संसदीय दलको बैठक शुक्रबार बिहान राख्दा पनि हुने भट्टराईको भनाइ थियो ।

