भारतमा रेल दुर्घटना हुँदा पाँचजनाको मृत्यु


नयाँदिल्ली- भारतको पूर्वी राज्य पश्चिम बंगालमा सोमबार मालवाहक रेल र यात्रुवाहक रेल आपसमा ठोक्किँदा कम्तीमा पाँचजनाको मृत्यु हुनुका साथै २५ जनाभन्दा बढी घाइते भएका उत्तरपूर्वी रेल सेवा, नर्थइस्ट फ्रन्टियर रेलवे (एनएफआर)का अधिकारीले बताएका छन् ।

दार्जिलिङ जिल्लाको फान्सिडेवा क्षेत्रको रंगापानी रेलवे स्टेसन नजिकै स्थानीय समयअनुसार बिहान करिब ९ बजे मालवाहक रेल ‘कञ्चनजंघा एक्सप्रेस’ यात्रुबाहक रेलसँग ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले सामाजिक सञ्जाल एक्समा दार्जिलिङ जिल्लाको फान्सिडेवा क्षेत्रमा भएको रेल दुर्घटनाबाट आफू स्तब्ध भएको उल्लेख गरेकी छिन् ।

जिल्ला मजिस्ट्रेट, प्रहरी अधिक्षक, चिकित्सक, एम्बुलेन्स र विपत् टोलीलाई उद्धार र चिकित्सकीय सहायताका लागि घटनास्थलमा खटाइएको छ । घटनाको अनुसन्धान भइरहेकाले थप विवरण अनुसन्धानपछि आउने प्रहरीले बताएको छ ।

प्रतिक्रिया