नेपालको अनौठो दिशाहीनता देखेर विचलित भएको छु : शंकराचार्य निश्चलानन्द सरस्वती


काठमाडाैं- जगन्नाथपुरीस्थित पूर्व यामना ऋग्वेद गोवद्र्धन मठका शंकराचार्य निश्चलानन्द सरस्वतीले नेपाललाई हिन्दू राष्ट्र बनाउन आफूले प्रयत्न गरेको तथा चीनको कुटिल रणनीतिबाट नेपाललाई जोगाउन चाहेको बताएका छन् ।  आइतबार झुँसी शिवगंगा आश्रममा बसेको हिन्दू राष्ट्र गोष्ठीमा बोल्दै उनले त्यसकै लागि विगतमा आफूले नेपाल भ्रमण गरेको स्मरण गरेका थिए ।

नेपालबाट गएका दम्पतीको जिज्ञासामा बोल्दै उनले नेपालको अनौठो दिशाहीनता देखेर विचलित भएको बताएका छन् । सोही कारण आफूले नेपालबाट ध्यान हटाएको उनले बताए । ‘सत्ता र स्वार्थको लोभको पराकाष्ठा हेर्नुस्, नेपालको ग्रन्थ जलाउने दिशाहीन प्रचण्डजस्ता व्यक्तिलाई प्रधानमन्त्री बनाइयो’ शंकराचार्यले भने, ‘चीनको कूटनीतिसामु नेपालका राजनीतिज्ञ झुकेका छन् ।’

यस्तै उनले भारतलाई हिन्दू राष्ट्र बनाउन नसकिने पनि बताएका छन् । उनले हिन्दुहरूलाई संगठित गर्नु भ्यागुतालाई तराजुमा तौल्नु जस्तै हो भनेर बताएका थिए । उनले हिन्दूहरूमा पद र प्रतिष्ठामा पाउने लोप हुने भएकाले सबैलाई सन्तुष्ट गर्न नसकिने बताए । ‘हामी आफ्नो काममा लागिरहेका छौं । सबैलाई जम्मा गर्न खोज्यौं भने दंगा हुनेछ’ उनले भने ।

शंकराचार्य निश्चलानन्द सरस्वती आठौं शताब्दिबाट सुरु भएको मानिने जगतगुरु शंकराचार्यका १४५औं उत्तराधिकारी हुन् । भारतवर्षमा हिन्दु धर्मका सर्वोच्च व्याख्याता एवं संरक्षक मानिने चार शंकराचार्यमध्ये उनी सबैभन्दा वरिष्ठ हुन् । गोवर्धनमठका शंकराचार्य निश्चलानन्द सरस्वतीले भारत वर्षको पूर्वी क्षेत्र हेर्दै आएका छन् ।

आद्य शंकराचार्यले बसालेका चार मठमध्ये गोवद्र्धन मठ एक हो । उत्तराखण्डमा अवस्थित ज्योतिर्मठका शंकराचार्य अभिमुक्तेश्वरानन्द सरस्वतीले उत्तरी क्षेत्र, गुजरात द्वारकामा अवस्थित शारदा पीठका शंकराचार्य सदानन्द सरस्वतीले पश्चिम क्षेत्र र कर्नाटकस्थित श्रृंगेरी मठका शंकराचार्य भारती तीर्थले दक्षिण क्षेत्र हेर्दै आएका छन् ।

शंकराचार्य निश्चलानन्द सरस्वती २०७५ बैशाख ३० गते नेपाल भ्रमणमा आएका थिए । त्यसबेला काठमाडौंको टुँडिखेलमा शंकराचार्यको नागरिक अभिनन्दन गरिएको थियो । यस्तै २०७९ को फागुनमा पनि उनी महाशिवरात्रीको अवसर पारेर नेपाल आएका थिए ।

प्रतिक्रिया