जलन पीडितप्रति सरकारले अमानवीयता देखायो : विन्दवासिनी कंसाकार


काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विन्दवासिनी कंसाकारले जलन पीडितलाई सरकारले बजेटमा नसमेटेर अमानवीयता भएको बताएकी छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा शहरी विकास, रक्षा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, कानून, संघीय मामिला मन्त्रालयको विनियोजन विधेयक माथिको छलफलमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले भनिन्, ‘अहिलेसम्म सरकारले आँखा चिप्लेर अमानवीय पीडालाई सम्बोधन नगर्ने ? काठमाडौँ केन्द्रित स्वास्थ्य उपचारबाट कहिले बाहिर निस्कने ? यस्तो संवेदनशील विषय बजेटमा नसमेट्नु लज्जास्पद मात्रै नभएर अमानवीयता हो ।’

उनले सरकारले बजेटमा जलनमा परेका हजारौँ नागरिक अन्देखा गरेको कारण सम्पूर्ण जलन पीडितको तर्फबाट खेद प्रकट समेत गरिन् । ‘सरकारले जलनमा परेका हजारौँ नागरिक अन्देखा गरेको कारण सम्पूर्ण जलन पीडितको तर्फबाट खेद प्रकट गर्दछु। ‘ उनले भनिन् ।

उनले जलनबाट घाइते हुनेहरूको सख्या हेर्ने हो भने जलनबाट पीडित हुनेमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकको सख्या धेरै हुँदा पनि मन्त्रालयले प्राथमिकतामा नराखेको भन्दै असन्तुष्टि जनाइन् ।

उनले जलन मानवको सृष्टिसँग सुरु भएको परम्परागत दुर्घटना भएको भन्दै केही अपराधमार्फत हुने भए पनि अधिकांश जलन दुर्घटनाबाट हुने गरेको बताइन् । उनले आफैले जलनको पीडा भोगेकाले त्यसको पीडा शब्दमा वर्णन गर्न नसक्ने बताइन् ।

प्रतिक्रिया