२ असारदेखि निजामती सेवा विधेयकमा छलफल हुने


काठमाडौँ – २ असारदेखि निजामती विधेयकमा छलफल सुरु गरिने भएको छ । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले छलफल थाल्ने भएको हो ।

समितिका सभापति रामहरि खतिवडाले नेपालको संविधान जारी भइसकेपछि सबैले चासो राखेको विधेयक निजामती सेवा विधेयक भएको उल्लेख गर्दै निजामती सेवालाई स्थायी सरकारको रूपमा लिनुपर्ने बताएका छन् ।

बुधबार आयोजित निजामती सेवा विधेयकबारे छलफल कार्यक्रममा बोल्दै सभापति खतिवडाले राजनीतिकर्मी पाँच वर्षको लागि मात्र निर्वाचित भएर आउने भएका कारण निजामती सेवालाई स्थायी सरकारका रूपमा लिनुपर्ने बताएका हुन् ।

उनले भने, ‘अहिले एकदमै महत्त्वपूर्ण विधेयक समितिमा प्राप्त भएको छ । नेपालको संविधान निर्माण पछाडि सबैभन्दा महत्त्वपूर्ण र सबैले चासो राखेको विधेयक कुनै छ भने त्यो संघीय निजामती सेवा विधेयक हो ।

नेपालको स्थायी सरकारका रूपमा हामीले निजामती सेवालाई लिँदै आएका छौँ । राजनीतिकर्मीहरू पाँच वर्षका लागि निर्वाचित भएर आउने भएकाले पनि स्थायी सरकारका रूपमा निजामतीलाई लिएका छौँ ।’

निजामती सेवा विधेयकलाई गोलमटोल गरेर हतारमा ल्याउने पक्षमा आफू नरहेको भन्दै उनले यस विधेयकलाई सबैको विधेयकका रूपमा स्थापित गर्ने दाबी गरे ।

आउँदो असार २ गतेदेखि राज्य व्यवस्था तथा सुशासन समितिमा उक्त विधेयकमाथि छलफल अगाडी बढाउने खतिवडाले बताए । अहिले बोल्ने भन्दा पनि गर्ने बेला भएको भन्दै उनले समितिलाई कुनै पनि राजनीतिक दलको छाया पर्न नदिने उनको भनाइ छ ।

प्रतिक्रिया