
कहाँ लुके बादलका छोरा प्रतिक ? रेड नोटीस जारी गर्ने तयारी
हङकङमा लुकेको आशंका
काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा अझै पक्राउ परेका छैनन् ।
०७९ चैतबाट नक्कली भुटानी प्रकरण बाहिरीएको थियो । जसमा पूर्व गृहमन्त्री बालकृष्ण खाण र पूर्वमन्त्री टोपबहादुर रायमाझी लगायत पक्राउ परेका थिए ।
खाण धरौटीमा छुटेका छन भने रायमाझी जेलमा छन् ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा पूर्व गृहमन्त्री थापका छोरा प्रतिक थापाको समेत संलग्नता प्रहरी अनुसन्धानबाट खुलेको थियो ।
उनीविरुद्ध पक्राउ पुर्जी समेत जारी छ । तर उनी पक्राउ पुर्जी जारी भएपछि फरार छन् ।
प्रहरीले उनको लोकेसन पत्ता लगाउन सकेको छैन् । तर उनी हङकङमा लुकेको अनुमान प्रहरी अधिकारीहरुको छ ।
उनको खोजीमा केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी,काठमाडौं प्रहरीको टोली सक्रिय रहेको प्रहरीका एक एआईजीले जानकारी दिए ।
उनका अनुसार इन्टरपोलमार्फत प्रतिकको खोजीका लागि रेड कर्नर नोटीस जारी गर्ने तयारी भैरहेको छ । रेड कर्नर नोटीस जारी भएपछि इन्टरपोलमा आवद्ध सबै देशका प्रहरीले प्रतिकको खोजी गरेर पक्राउ गर्न सक्नेछन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले ५५ दिन अनुसन्धान गरेको थियो ।
प्रतिकले बुबा गृहमन्त्री भएको फाइदा उठाउँदै नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग आर्थिक लाभ लिएको प्रमाण प्रहरीले फेला पारेको छ ।
प्रतिकको मोबाइल समेत अफ छ ।
नक्कली भुटानी प्रकरणमा उजुरी परेको १० महिनापछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
प्रहरीले ०७९ चैत १२ गते केशव दुलाल, सानु भण्डारी र टंक गुरुङलाई काठमाडौंबाट पक्राउ गरेको थियो । १५ चैतमा सागर थुलुङ राई र २९ चैतमा सन्देश शर्मालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरुकै बयानका आधारमा अन्यको संलग्नताको विषय बाहिर आएको हो ।



कागजपत्र |
