सर्वदलीय बैठक बहिस्कार नगरी सबैभन्दा अगाडि शितलनिवास किन पुगेका थिए प्रचण्ड?


काठमाडौं– नेकपा माओवादी केन्द्रले राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार शितलनिवासमा डाकेको सर्वदलीय बैठक बहिस्कार गर्ने रणनीति बनाएको थियो। त्यहि रणनीतिअनुसार नै नेता हरिबोल गजुरेलले भनिदिए– बहिस्कार हुनसक्छ!

लगभग त्यहि निर्णय निश्चित भएपछि माओवादी केन्द्रले सर्वदलीय बैठक बहिस्कार गर्ने समाचार बाहिरिए। तर यसबारे त्यस दलका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड खुलीसकेका थिएनन्।

तर ४ बजेका लागि डाकिएको बैठकमा प्रचण्ड सबैभन्दा अगाडि पुगेका थिए। बहिस्कारको तयारीमा रहेका प्रचण्ड शितलनिवास पुग्नुका पछाडि दुई मुख्य कारण रहेको उच्च स्रोतले दाबी गरेको छ।

‘जाने कुरा थिएन तर प्रचण्डका लागि कतैबाट फोन आयो र बैठकमा राष्ट्रपतिले बोलाएको बैठकलाई एभोइड नगर्न भनियो’, स्रोतको दाबी छ,‘सत्ता समीकरणको विषय अथवा अन्य विषयमा कसरी प्रस्तुत हुन्छन् त्यो पनि बुझ्नुहोस् भनियो।’

अर्कोचाहिँ प्रचण्डलगायतको अनुपस्थितिमा पनि बैठक चल्ने र त्यसले राजनीतिक विषय प्रवेश पाए ओली सरकारका निम्ति कांग्रेस र जनता समाजवादी पार्टी सकारात्मक बन्न दबाब मिल्न सक्ने थियो। ‘त्यस्तो दबाब कतैबाट पर्न सक्छ त्यसलाई चिर्न पनि प्रचण्ड जानुपर्ने भयो’, माओवादी स्रोतले भन्यो,‘खुशीले होइन बाध्यताले त्यहाँ उपस्थित हुनु परेको हो।’

नेकपाको आन्तरिक कलहसँगै प्रतिनिधि सभा विघटनको सिफारिस राष्ट्रपतिले सदर गरेपछि प्रचण्डले आलोचना गरेका थिए। त्यो भन्दा धेरै प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका थिए।

ओलीलाई सत्ताबाट हटाउनका निम्ति प्रचण्डले अनेक प्रयास गरेको पनि सतहमा आफैंले बताइसकेका छन्। उनले भारतीय जनता पार्टीका महासचिवलगायतसँग यसबीचमा बारम्बार कुराकानी गरेको विवरण सतहमा आएको थियो। उनी आफैंले कतिपय अन्तरवार्तामा अन्तर्राष्ट्रिय शक्ति केन्द्रसँग पनि कुराकानी भइरहेको बताएका थिए।

यता, शितलनिवासमा राजनीतिक विषयमै ठूलो छलफल भएको थियो। प्रधानमन्त्री ओलीले फेरि मिलेर चुनावमा जानका लागि प्रस्ताव गरे जसमा राष्ट्रपतिको मौन समर्थन रहेको बताइन्छ।

चुनावमा जाने विषयमा भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राप्रपाका अध्यक्ष प्रकाशचन्द्र लोहनी, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीबाहेक सबैले बिरोध गरेका थिए।

प्रतिक्रिया