झोलुंगे पुलमा अड्किएका खच्चडको उद्धार, १४ मध्ये दुई मरे


काठमाडौं- कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा पुलमै अड्किएका खच्चडहरूकाे उद्धार भएको छ ।

पुलबाटै उद्धार गर्न नसकिएकाले तार काटेर फसेका ९ खच्चडलाई नदीमा खसाले उनीहरूकाे उद्धार गरिएकाे हाे । तर, १४ मध्ये २ खच्चड मरेका छन् । स्थानीय डिलबहादुर थापाका अनुसार एउटा खच्चडको पुलमै मृत्यु भएको थियो भने एउटा खच्चडकाे कर्णाली नदीमा खसाल्ने क्रममा मृत्यु भएको हाे ।

फसेका बाँकी खच्चड निकाल्न झनै जोखिम छ ।  तिनको उद्धार गर्न अछामबाट सशस्त्रको अर्को टोली आउँदै गरेकाे स्थानीयले बताएका छन् ।

आइतबार बिहान  अछामको पञ्चदेवल विनायक नगरपालिका–९ बाट दैलेखको आठबिस नगरपालिका–४ खिड्कीज्यूला बजारमा आउने क्रममा झोलुङ्गे पुलको एकातर्फका दुई वटा लठ्ठा चुँडिदा १४ खच्चर जालीमा फसेका थिए ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीका साथै स्थानीयले जालीमा अड्किएका खच्चरलाई जाली काटेर कर्णाली नदीमा खसालेका थिए । खसेका खच्चडलाई तल नदीमा डुंगामा राखेर निकाल्ने काम भएकाे थियाे ।

झोलुंगे पुलबाट एकैचोटी धेरै खच्चड लैजान खोज्दा दुर्घटना भएकाे स्थानीयले दाबी गरेका छन् ।

प्रतिक्रिया