वीर अस्पतालका निर्देशक पौडेलको निजी औषधी पसल !

निलम्बन गरी छानबिन गर्न माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी


काठमाडौं – भ्रष्टाचार र अनियमितताका समाचार बाहिरिइरहने मुलुककै ठूलो अस्पतालका रुपमा मानिएको वीर अस्पतालमा भएको अर्को अनियमितता बाहिर आएको छ ।

पछिल्लो समय वीर अस्पतालको कार्यकारी पदमा रहेका सरकारी चिकित्सकले नै औषधी पसल सञ्चालन गर्दै आएको भेटिएको हो । अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले नियमविपरित औषधी पसल दर्ता गरी सञ्चालन गरिरहेको खुलेको हो ।

दशौं तहका सह-प्राध्यापक वरिष्ठ कन्सल्टेण्ट अर्थोपेडिक सर्जन एवं अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले अल्का हस्पिटल फार्मेसी प्रालि नामको कम्पनी खोली व्यावसाय गर्दै आएको खुलेसँगै वीर अस्पतालका कर्मचारीहरुले त्यसबारे छानबिनका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, स्वास्थ्य मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्रलगायतका कार्यालयहरूमा निवेदन दिएका छन् ।

निवेदनअनुसार डा. पौडेल उक्त कम्पनीको सञ्चालक समिति अध्यक्ष नै रहेको र कम्पनीको विभिन्न मितिमा सम्पन्न बैठकहरुमा अध्यक्षकै हैसियतमा हस्ताक्षरसहित कार्य सञ्चालन गरिरहेको जनाइएको छ । साथै कम्पनीमा उनको नामको शेयरलगत पनि रहेको खुलेको छ र कम्पनीको अद्यावधिक गर्नका लागि बुझाइएको सम्पूर्ण कागजागतमा अध्यक्षकै हैसियमा उनले हस्ताक्षर गरेको पनि देखिएको छ ।

निवेदनमा नेपाल स्वास्थ्य सेवा ऐन  २०५३ को दफा ५९ विपरीत, नेपाल स्वास्थ्य सेवा नियमावली २०५५ को विविध नियम ११२ विपरित, निजामती ऐन २०४९ दफा ४८ (क) मा कुनै बैक वा कम्पनीको स्थापना, रजिस्टेशन वा सञ्चालनको काममा भाग लिन नहुने भन्ने, निजामती सेवा नियमावली २०५० को नियम ११७ विपरीत, भ्रष्टाचार निवारण ऐन २०५९  दफा १४ मा गैरकानुनी व्यापार ब्यावसाय गर्ने राष्ट्र सेवकलाई  आफ्नो वा अरुको नाममा कुनै फर्म वा कम्पनी वा संस्थाको हिस्सेदार भएमा कसुर अनुसार कैद वा जरिवाना हुने ब्यवस्थाका साथै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको सह-प्राध्यापक (शिक्षक) पनि रहेका कारण प्रतिष्ठान शिक्षक नियमावली २०६४ को नियम १०९ को पनि विपरीत संस्था, फर्म दर्ता गैरकानुनी रहेको उल्लेख गर्दै तत्कालका लागि निलम्बन गरी छानबिनको माग गरिएको छ ।

 

उजुरीः

२०८१/०२/२४

सम्माननिय प्रधानमन्त्री ज्यू

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय

सिंहदरबार ,काठमाडौं

माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री ज्यु

स्वास्थ्य  तथा जनसंख्या मन्त्रालय

रामशाहपथ ,काठमाडौ

श्री अक्तियार दुरुपयोग अनुसन्धान आयोग

टंगाल ,, काठमाडौं

श्रीमान सचिव ज्यु

राष्ट्रिय सतर्कता केन्द्र

सिंहदरबार ,काठमाडौं

श्रीमान सचिव ज्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

रामशाहपथ ,काठमाडौं

 विषय : वीर अस्पताल का निर्देशक डा सन्तोष पौडेलले  नियमविपरीत  ओेषधि पसल दर्ता गरि सन्चालन गरेकाले छानबिन गरि कारवाहि गरि पाऊ।

 सम्माननीय, माननीय एंव श्रीमान ज्यु

  महोदय 

यस चि वि रा प्र वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेल (कर्मचारी संकेत न १९३४०१) सह- प्राध्यापक वरिष्ठ कन्सल्टेण्ट अर्थोपेडिक सर्जन अधिकृत दशौ तहका  कर्मचारी हुनुहुन्छ  उंहाले  नेपाल सरकार को कर्मचारी भएर र स‍ो माथि वीर अस्पताल को निर्देशक जस्तो पदमा बसेर स्वास्थ्य सम्मन्धि व्यापार   ब्यवासाय ,कम्पनी दर्ता गरि सन्चालन गरि रहनु भयको छ । उंहाले नेपाल स्वास्थ्य सेवा ऐन  २०५३ को दफा ५९ विपरीत ,नेपाल स्वास्थ्य सेवा नियमावली २०५५ क‍ो विविध नियम ११२ विपरित , निजामती ऐन २०४९ दफा ४८ (क) मा कुनै बैक वा कम्पनीको स्थापना,रजिस्टेशन वा सञ्चालनको काममा भाग लिन नहुने भन्ने रहेको छ ।निजामती सेवा नियमावली २०५० को नियम ११७ विपरीत ,भ्रष्टाचार निवारण ऐन २०५९  दफा १४ मा गैरकानुनी व्यापार ब्यावसाय गर्ने राष्ट्र सेवकलाई  आफ्नो वा अरुको नाममा कुनै फर्म वा कम्पनी वा संस्थाको हिस्सेदार भएमा कसुर अनुसार कैद वा जरिवाना हुने ब्यवस्था छ , उहा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान को सह प्राध्यापक ( शिक्षक) पनि हुनुहुन्छ सो कारण प्रतिष्ठान शिक्षक नियमावली २०६४ को नियम १०९ को पनि विपरीत संस्था ,फर्म दर्ता गैरकानुनी  छ ।

 डा सन्तोष पौडेल  अल्का हस्पिटल फार्मेसी  प्रा लि को शेयर सदस्य  / सञ्चालक / अध्यक्ष रहेको छन  (प्रा .लि  दर्ता .  न  २४८७८२/०७७/०७८)  कम्पनी रजिस्ट्रार कार्यालय लाई २०७९/९/१ गते  सञ्चालक / अध्यक्ष को रुपमा  बुझाएको प्रमाणित कागजपत्र मा कास्की जिल्ला अन्नपूर्ण गांउपालिका  वडा न ३ का पुन्य प्रसाद पौडेल का छोरा श्री सन्तोष पौडेल ( ना. प्र . न १०६६२८ जि . प्र . का. कास्की )ले अल्का हस्पिटल फार्मेसीमा शेयर संख्या कित्ता न ३७००१ देखि ७४००० सम्म जम्मा ३७००० कित्ता शेयर रहेको जसको रकम ३७०००००  लाख रहेको छ । पुन कम्पनी रजिस्ट्रार कार्यालय लाई मिति २०८०/०५/१४ गते अध्यक्ष को रुपमा हस्ताक्षर सहित पेस गरेको शेयर लागत मा सन्तोष पौडेलको शेयर कित्ता नम्बर देखि  ३७००१ /१७४००१ सम्म ७४०००/२४८००० जम्मा ३७००००० (मिति २०७९/९/१मा )  र ७४००००० ( मिति २०८०/५/११) रहेको देखिन्छ । अल्का हस्पिटल फार्मेसी  प्रा लि को २०७९ साल पौष३ गते बसेको बैठकमा उहाँ सन्तोष पौडेल सञ्चालक/शेयरधनि भनेर उपस्थिति मा नाम छ  बैठक ले विभिन निर्णय हरु गरेको छ ।। मिति २०७९/९/२८ गते को बैठक मा पनि उहाको नाम रहेको छ सञ्चालक / शेयरधनी को रुपमा छ । सोही बैठकले अल्का हस्पिटल फार्मेसी प्रा लि ले  कम्पनि रजिस्ट्रारको कार्यालयमा पेश गर्नुपर्ने कम्पनी ऐन २०६३ को दफा ५१.३ बमोजिमको बिवरण को( ञ) मा बहालवाला सञ्चालकको नाम ठेगाना को १ न . मा श्री सन्तोष पौडेल  संञ्चालक / शेयरधनि , ठेगाना : कास्की जिल्ला अन्नपूर्ण गाउपालिका वडा न ३ भनी प्रमाणित पत्र  कम्पनी रजिस्ट्रार को कार्यालय मा बुझाएको छ । मिति २०७९/०८/२८ गते अल्का फार्मेसी ले कम्पनी ऐन २०६३ को  ९२(१) संग सम्बन्धित विवरणमा पेश गर्ने विवरण मा १ न मा श्री सन्तोष पौडेल नाम संञ्चालक / शेयरधनी को रुपमा र उनकै ठेगान उल्लेख  छ ।

 मिति २०८०/९/६ गते फार्मेसी  प्रा लि को संचालक समितको  बैठक प्रा लि का अध्यक्ष सन्तोष पौडेल को अध्यक्षता मा बसेको र विभित्र निर्णय भएको देखिन्छ ।

मिति २०८०/९/२६ गते अल्का हस्पिटल फार्मेसी प्रा लि को बार्षिक साधारण सभा को विवरण प्रा लि का अध्यक्ष श्री सन्तोष पौडेल को अध्यक्षतामा कम्पनी रजिस्ट्रार कार्यालयमा बसि विभिन्न निर्णय गरेको देखिन्छ । र निर्णयमा सन्तोष पौडेलले प्रमाणित गरेका छन । सोही मितिमा  ( २०८०/ ०९/२६ )कम्पनी ऐन २०६३ को दफा ५१.२ संग सम्बन्धित प्रतिवेदन ,रजिस्ट्रार कार्यालयमा बुझाउदा विभिन्न विवरण पेश गरेका छ जसको ११ नम्बरमा वहनलवाला सञ्चालक को नाम र ठेगाना उल्लेख छ जसमा तीन जना सन्चालक रहेको देखिन्छ जसको २ नम्बर मा सन्तोष पौडेल को नाम र ठेगाना छ सो पत्र  प्रमाणित सन्तोष पौडेलले नै गरेको देखिन्छ सोही मिति मा अल्का फार्मेसी को बार्षिक साधारणसभा अभिलेख अध्याबधिक गरि पाउ भनी आवश्यक कागजात राखि कम्पनी रजिस्ट्रार कार्यालय को रजिस्टार को नाममा कम्पनी रजिस्ट्रार कार्यालय ,ित्रपुरेश्वर काठमाडौ मा निवेदन दिएको छ जसमा अध्यक्ष सन्तोष पौडेलले हस्ताक्षर गरेको छ  यी यावत प्रमाण हरु देखिएकाले डा पौडेलले गैरकानुनी रुपमा सरकारि कर्मचारी र अस्पताल प्रमुखले गर्ने नहुने काम गरेकाले तत्काल निलम्बन गरि छानबिन र कारवाहि को लाई अनुरोध गर्दछौ

  वीर अस्पताल  कर्मचारी

२०८१

प्रतिक्रिया