पढ्ने कमर्श, बेच्ने औषधी


रुपन्देही- अनधिकृत रुपमा औषधी बिक्री गर्ने दुई जनालाई जिल्ला अनुगमन समितिले नियन्त्रणमा लिएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–३, रानीगाउँबाट बिहीबार संयुक्त जिल्ला अनुगमन समितिले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा आयशा फार्मेसीमा बसेर औषधी बिक्री गरिरहेका दीपु केवट र विनायक फार्मेसीमा बसेर औषधी बिक्री गर्दै आएका रामहरि आचार्य छन् ।

दीपुले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कुनै पनि विषय अध्ययन नगरेको र आचार्यले कमर्श पढेर पनि औषधी बिक्री गरिरहेको पाइएपछि उनीहरुलाई पक्राउ गरेको जिल्ला अनुगमन समिति, रुपन्देहीका संयोजक समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्याले बताए ।

आयशा रामनरेश प्रसाद मल्लाह र विनायक तारा भण्डारीको नाममा दर्ता रहेका फार्मेसी हुन् ।  पक्राउ परेका आचार्य फार्मेसी सञ्चालक भण्डारीका ज्वाइ नाता पर्ने व्यक्ति भएको पनि प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

अनुगमन समितिले दुबैजनालाई अनुसन्धानपछि प्रचलित कानुन अनुसार कारबाही गरिने जनाएको छ ।

 

प्रतिक्रिया