

‘टेरामक्स प्रकरणमा भ्रष्टाचार गर्ने जोसुकै भएपनि सजायको भागीदार हुनैपर्छ’

काठमाडौँ – टेरामक्स प्रविधिका उपकरण खरिदमा भ्रष्टाचार गर्ने जोसुकै भएपनि सजायको भागीदार हुनै पर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताएकी छन् ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले टेरामक्स प्रविधि खरिदमा भएको भ्रष्टाचारबारे के भइरहेको छ ? भनेर मन्त्री शर्मासँग जवाफ मागेका थिए ।
सुरक्षण मुद्रण सम्बन्धी विधेयकमाथिको छलफलका क्रममा सांसद सुवालले एनसेलको करछली र टेरामक्स प्रविधि खरिद भ्रष्टाचारका विषयमा प्रश्न गरेका थिए । ‘एनसेलको पनि भ्रष्टाचारको कुरा आएको थियो । टे्रामक्सको पनि विषय आएको थियो । यो विषयमा मन्त्रीले के गरिरहनुभएको छ ? मन्त्रीले जवाफ दिनुभए राम्रो हुन्थ्यो ।’
जवाफमा मन्त्री शर्माले उक्त विषय छानबिनकै क्रममा रहेकाले धेरै कुरा बोल्न सकिने अवस्था नरहेको बताइन् । छानबिनका विषय नियामक निकायहरूले अगाडि बढाइरहेकाले थप बोल्न नसकिने मन्त्री शर्माको भनाइ थियो । सरकारले यस्ता प्रकरणमा कुनै कमजोरी नगर्ने गरी अगाडि बढिरहेको मन्त्री शर्माको भनाइ थियो ।
टेलिफोन सेवा प्रदायक संस्था एनसेलबारे सोधिएको प्रश्नको जवाफमा मन्त्री शर्माले भनिन्, ‘एनसेलको विषयमा सरकारले क्याबिनेटबाट छानबिन समिति गठन गर्यो । छानबिन समितिले सरकारलाई सुझाव दियो । त्यो सुझावका आधारमा सरकारले सञ्चार मन्त्रालय र दूरसंचार प्राधिकरणलाई पत्राचार र सर्कुलर गरेको छ । त्यो अनुसार हामी अगाडि बढ्न खोज्दैछौं । हामीले यसमा राष्ट्र र जनताको हित हुने गरेर कामहरू अगाडि बढाउनेछौँ ।

