गरिबीले पूरै परिवारलाई बेङ्लोर पुर्‍यायो, आगोले परलोक


काठमाडाैं- बझाङको जयपृथ्वी नगरपालिकाको वडा नम्बर ११ सबैभन्दा ठूलो वडा हो । त्यसैमा पर्छ सुइल गाउँ, जो वडाको दुर्गम क्षेत्रमा छ । त्यहि गाउँमा बस्दै आएका थिए मदन बोहरा ।

तर, गाउँमा उनको परिवार गरिबीबाट प्रताडित थियोे । केही वर्षअघिसम्म यार्सा संकलन गरेर गुजारा गर्दै आएका उनको परिवार पछिल्लो समय भने एक्लो आम्दानीको स्रोतबाट पनि निरास थियो । पछिल्लो समय हिमालमा पनि यार्सा पाउन कठिन हुने भएकाले परिवार नै मजदुरी गर्न भारत हानिएको उनकै गाउँका सन्तोष बोहरा बताउँछन् ।

‘करिब ४० प्रतिशत गाउँलेहरु रोजगारी खोज्न भारत गएका छन् । पढाई नगरेका मदन पनि स–परिवार ६ वर्षअघि भारतको बेङ्लोर गएका थिए’ सन्तोषले भने, ‘यता कृषि गर्न पनि जमिन अभाव छ । के गर्ने, के खाने भन्ने सबैको समस्या छ ।’

उनका अनुसार मदनका आमाबुवा पनि भारतमै अलग स्थानमा बस्ने भएकाले गाउँमा मदनका दाजु गणेशको परिवार मात्रै बस्दै आएको थियो ।

बेङ्लोरको कर्नाटका राज्यको एहलंका भन्ने ठाउँमा बस्दै आएका मदनले एक सेठकोमा सुरक्षा गार्डको काम गर्दै आएका थिए । उनकी पत्नी पनि अरुकोमा गएर सरसफाइको काम गर्दै आएका थिइन् । त्यसैबाट आएको आम्दानीले उनीहरुले आफ्ना छोराछोरीको पालनपोषण र पढाई धानिरहेका थिए । सबै आम्दानी त्यसैमा खर्च हुने भएकाले बचत हुने त कुरै भएन ।

तर, केही समयअघि भने मदनको जागिर गएको थियो । त्यसयता उनकी पत्नीकै कमाईमा उनको ५ सदस्यीय परिवार चलिरहेको थियो ।

जेनतेन गुजारा गरिरहेका उनको परिवारमा गतसाता एक्कासी बज्रपात पर्यो । गत बुधबार राति ११ बजेतिर सबै परिवार कोठामै भएको बेला खाना पकाउने क्रममा एक्कासी ग्याँस लिक भएर आगलागी भयो । उक्त आगलागीमा परि बोहरासहित उनकी श्रीमती प्रेमजला, छोरा प्रशान्त, छोरीहरु अनिता र निता घाइते भए । घटना लगत्तै घाइते पाँचै जनालाई नजिकै रहेको भिक्टोरिया अस्पताल लगिएको थियो ।

पाँचै जनाको उपचारको क्रममा मृत्यु भइसकेको छ । प्रेमजलाको शनिबार साँझ मृत्यु भएको थियो भने उनका छोरीहरुको त्यसअघि नै मृत्यु भइसकेको थियो । मदन र उनका छोराको गएराति उपचारकै क्रममा मृत्यु भएको बताइएको छ ।

घाइते भएको खबरपछि मदनका दाजु गणेश बेङ्लोर पुगिसकेका थिए । तर, कोही पनि नबाँचेकाले त्यतै सबैको अन्तेष्टि गरेर उनी रित्तै हात घर फर्कपनुपर्ने अवस्था आइलागेको छ ।

प्रतिक्रिया