उत्तर कोरियाले फेरि फोहोर भरिएका ६ सय बेलुन दक्षिण कोरिया पठायो


काठमाडाैं- उत्तर कोरियाले करिब ६ सय फोहोरले भरिएका बेलुनहरू सीमामा पठाएको सियोलको सेनाले आइतबार बताएको छ। सुरक्षाकर्मीहरूले चुरोटका बट्टादेखी प्लास्टिकसम्म रहेको उक्त फोहोरको बेलुन सङ्कलन गरिरहेका छन् ।

‘उत्तर कोरियाले शनिबार साँझ ८ बजे देखि दक्षिण कोरियातर्फ पुनः फोहोरका बेलुनहरू पठाउन सुरु गरेको हो’, सियोलको ज्वाइन्ट चिफ्स अफ स्टाफ(जेसिएफ) ले एक विज्ञप्तिमा बताएको छ ।

आइतबार बिहान करिब १० बजे सम्म प्रति घण्टा लगभग बीस देखि पचासका दरले लगभग ६ सय बेलुनहरू हावामा उडिरहेको पहिचान गरिएको थियो। बेलुनहरू राजधानी सियोल र ग्योन्गी छेउछाउका क्षेत्रसहित दक्षिण कोरियाको उत्तरी प्रान्तहरूमा अवतरण गरिरहेका छन्। यो सामूहिक रूपमा दक्षिणको लगभग आधा जनसंख्या बसोबार गर्ने क्षेत्र हो ।

उत्तर कोरियाले यस हप्ताको सुरुबाट फोहोर बोकेका सयौं बेलुनहरू दक्षिणतर्फ पठाउन थालेको हो । सियोलले प्योङहाङको उक्त कार्य तुच्छ भएको भन्दै यदि यस्तो तर्कहीन उक्साहट नरोके कडा प्रतिकारको चेतावनी दिएको छ ।

‘हाम्रो सेनाले बेलुनको छोडिएका स्थानहरुबाट निगरानी गरिरहेको छ र सार्वजनिक सुरक्षालाई प्राथमिकता दिँदै खसेका बेलुनहरु सङ्कलन गर्दैछ।’ उत्तर कोरियाले मङ्गलबारदेखि करिब ९ सय फोहोर भरिएका बेलुन दक्षिणतर्फ पठाएकोमा कुनै खतरनाक पदार्थ फेला नपरेको जेसिएफले बताएको छ ।

प्रतिक्रिया