सडक बनाउँदा भ्रष्टाचार गरेका तत्कालीन प्रशासकीय प्रमुख मल्लसहित ८ विरुद्ध मुद्दा दायर


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

अख्तियारले मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्लसहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उपभोक्ता समितिमार्फत सडक निर्माण गर्दा भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ ।

अख्तियारले प्रमुख प्रशासकीय अधिकृत मल्ल, इन्जिनियर प्रकाश आचार्य, असिस्टेन्ट सव–इन्जिनियर विक्रम बुढा, उपभोक्ता समितिका अध्यक्ष हस्तबहादुर बुमी, कोषाध्यक्ष धौली कामी, सचिव केवल बुढाविरुद्ध मुद्दा दर्ता गरेको छ ।

त्यस्तै सोरु गाउँ कार्यपालिका सदस्य एवं अनुगमन समिति संयोजक दलवीर सार्की र वडा नं ७ का तत्कालीन अध्यक्ष राजेन्द्र बुमीलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ ।

उनीहरूले आर्थिक वर्ष २०७७/७८ मा मुगुको सोरु गाउँपालिका वडा नं. ७ मा दाक्च–ख्याल्च सडक निर्माण आयोजनामा उपभोक्ता समितिका पदाधिकारी र प्राविधिकसमेतको मिलेमतोमा सडक निर्माण कार्यमा अनियमितता गरेको अख्तियारले दाबी गरेको छ ।

वास्तविकभन्दा कम चौडाइ कायम गरेको, फर्जी प्रतिवेदनका आधारमा भुक्तानी दिएको र निर्माण सम्झौता बमोजिम काम नगरेको अख्तियारले जनाएको छ ।

अख्तियारले जनही १३ लाख ७२ हजार बिगो कायम गरी कैद र जरिवाना गर्न मागदाबी गरेको छ ।

प्रतिक्रिया