सुरक्षा कोषमा आबद्ध योगदानकर्ताका सन्तानले पनि उपचार सुविधा पाउने


काठमाडौँ – सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताका सन्तानले पनि उपचार सुविधा पाउने भएका छन् ।

बिहीबार (जेठ १७ गते) देखि विराटनगरबाट सुरु भएको ‘श्रमाधान रोजगार मेला’ को उद्घाटनमा श्रम, रोजगार तथा सामाजिक मन्त्री डोलप्रसाद अर्यालले सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताका सन्ततिलाई पनि उपचार सुविधा पाउने औपचारिक घोषणा गरेका छन् ।

यसअघि २०७९ पुसबाट औपचारिक क्षेत्रका योगदानकर्ताका श्रीमान् या श्रीमतीलाई औषधोपचार सुविधामा समेटेको कोषले आजदेखि लागू हुने गरी अनौपचारिक र वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारले नै औषधोपचार सुविधा पाउने गरी कार्यविधि संशोधन भएको हो ।

यससँगै अनौपचारिक र वैदेशिक रोजगारीमा गएका श्रमिकका श्रीमान्, श्रीमती र १८ वर्ष उमेर नपुगेका छोराछोरीले वार्षिक १ लाख रुपैयाँसम्मको औषधि उपचार सुविधा पाउने भएका छन् ।

कोषले अनौपचारिक र वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारलाई नै उपचार सुविधामा समेट्ने गरी तीन महिनाअघि नै कार्यविधि संशोधन गरेको र आज बिहीबारदेखि कार्यान्वयनमा आएको निर्देशक उत्तमराज नेपालले जानकारी दिए ।

त्यस्तै, अनौपचारिक र वैदेशिक रोजगारीमा गएका श्रमिकका लागि कोषले उपचार सुविधा पाउन योग्य समयावधिलाई नौ महिनाबाट घटाएर तीन महिनामा झारेको छ । यसअघि कोषमा योगदान गर्न थालेको ९ महिनापछि मात्र उपचार सुविधाका लागि योग्य हुने व्यवस्था रहेकोमा अबदेखि तीन महिनाको नियमित योगदानपछि नै योग्य हुने गरी कार्यविधि संशोधन गरिएको निर्देशक नेपालले जानकारी दिए ।

प्रतिक्रिया